
रसुवा । रसुवाको टिमुरे प्रहरी चौकीले पाँच महिनाको अवधिमा चीनको स्वशासित क्षेत्र तिब्बतमा काम गर्न जान लागेका १ सय १० जना नेपाली महिलालाई फिर्ता गरेको छ ।
उमेर नपुगेको र अभिभावकविनै रसुवागढी नाका हुँदै केरुङ जान लागेका उनीहरुलाई माइती नेपालको सहयोगमा नाकाबाटै घर फिर्ता गरिएको हो ।
केरुङमा करिब पाँच सय किशोरी होटल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर तथा घरमा कार्यरत रहेको माईती नेपालले जनाएको छ ।
राहदानी बनाउन नपर्ने, खर्च कम लाग्ने र आम्दानी राम्रो हुने आशामा पढाइ छाडेर किशोरीहरू केरुङ जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।
यसैबीच, केरुङ जान कडाइ गरिएपछि किशोरी लैजाने गिरोह सक्रिय भएको छ ।
उमेर नपुगेका, अभिभावक बिना जान नपाएका र बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय हुन थालेको प्रहरीले जनाएको छ ।
श्रीमान् विदेश गएका, आर्थिक अवस्था कमजोर भएका र अभिभावकविहीनहरूलाई दलालले प्रलोभन देखाई केरुङ पुर्याउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्