Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


क्षेत्रीय विद्युत् व्यापारको ढोका खुल्यो : ऊर्जामन्त्री


0
Shares

काठमाडौं, पुस ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतले विद्युत् आयात–निर्यात निर्देशिका परिमार्जन गरेसँगै नेपालका लागि क्षेत्रीय विद्युत् व्यापारको ढोका खुलेको बताएका छन् ।

मन्त्रालयले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनले भारतले विद्युत्लाई रणनीतिक नभइ व्यापारको वस्तु बनाउनु स्वागतयोग्य कदम भएको पनि उल्लेख गरे ।

भारतले सन् २०१६ मा ल्याएको निर्देशिकामा भारतको लगानीमा बनेका आयोजनाको बिजुलीमात्रै किन्ने उल्लेख गरेको थियो ।

अहिले त्यसलाई परिमार्जन गरेर छिमेकी देश, ती देशले तोकेका कम्पनी वा विद्युत् व्यापारसम्बन्धी संस्थाबाट भारत सरकारले विद्युत् खरिद गर्नसक्ने बनाएको छ ।

दुई देशको आपसी समझदारीबाट पनि विद्युत् खरिद गर्नसकिने निर्देशिकामा उल्लेख गरिएको छ ।

कार्यान्वयनमा कुनै समस्या आए तत्काल समाधान गर्ने पनि मन्त्री पुनले उल्लेख गरे ।

भारतले नेपालसँग भएको सहमति एवं बिम्स्टेकको क्षेत्रीय ग्रीड सन्जाल विकासको सहमतिअनुसार परिमार्जन गरेको जनाइएको छ ।

ऊर्जामन्त्री पुनले ऊर्जा उत्पादकहरुसँग नेपाल विद्युत् प्राधिकरणले गरेको ‘टेक अर पे’ समझदारीले पनि यस क्षेत्रमा लगानी बढ्ने बताए ।

रणनीतिकरुपले महत्वपूर्ण यस निर्णयले प्राधिकरणलाई घाटा नलाग्ने दाबी पनि उनले गरे ।

बजारको सम्भावना नभइ लगानी नआउने भएकाले टेक अर पेको निर्णय गरिएको उनले उल्लेख गरे ।

मुलुकभित्रै खपत बढाउने र निर्यातको योजना सरकारको रहेको उनले दाबी गरे ।