२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बडहर्वाबासीको एउटै मागः पुलमात्र बनाइदेउ, भारतको बाटो हिड्नु नपरोस(भिडियो)


0
Shares

६ लाख ८६ हजार ७ सय २२ जनसंख्या रहेको रौतहटमा प्रत्येक घरमा औसत ६ दशमलव ४४ जना बस्छन् । तर त्यहाँका बासिन्दालाई पनि विकास एउटा सपना नै बन्ने गरेको छ ।

रौतहटको दुर्गाभगबती गाउँपालिकाको एक वडा यस्तो छ जहाँ मानिस बर्षा लागेपछि भारतको बाटो र हिउँदमा डुङ्गा चढेर आफनो बस्ती र घर जान विवश छन् ।

दुर्गाभगवती गाउँपालिकाको पाँच नम्बर वडाको बडहर्वाका ४ सय ५२ भन्दा बढी घरधुरी रहेको यो बस्ती बाग्मती नदी पारी रहेको छ ।

सर्लाहीको बलरा नगरपालिकासँग सीमा जोडिएको उक्त बस्तीमा एक निम्न माध्यमिक विद्यालय मात्र छ ।

न त स्वास्थ्य चौकी, न प्रहरी चौकी नै छ । बर्षा लागेपछि त्रासमा बाच्न बाध्य यहाँका बासिन्दा बाग्मती नदीमाथिको अलपत्र निर्माणाधिन पुल चाँडै बनाउन माग गर्छन् ।

तत्कालिन प्रधानमन्त्री माधव नेपालले २०६७ सालमा शिलान्यास गरेको पुल १९ वटा पिलर बनाएपछि त्यत्तिकै अलपत्र छ ।

निर्माणको जिम्मा लिएको लुम्बिनी बिल्डर्सले काम नै छाडेको छ । गाउँपालिकाको कार्यालय र वडा कार्यालय जानसमेत त्यस बस्तीका बासिन्दालाई समस्या रहेको छ ।

प्रजातन्त्र प्राप्तिपछिका सबै निर्वाचनमा भाग लिए पनि चुनावका बेला यही पुलका नाममा सबैजसो दल र उम्मेदवारले भोट माग्छन् तर काम भने कसैले गरेका छैनन् ।

पुल नभएकैले पश्चिममा बाग्मती नदी र पूर्वमा सर्लाहीको मनुसमारा खोलाबाट उनीहरुको जीवन नै जोखिममा परेको छ । त्यसैले त सबै जना एकै स्वरले भन्छन्, बाग्मती नदीमा पुल बनाईदिनु पर्‍यो ।

पुल नभएकैले उनीहरु बस्तीमा आवतजावत गर्न डुंगा संचालकलाई वर्षेनी प्रत्येक घरबाट २० किलो धान बुझाउँछन् । डुगा संचालकले नदी तारे वापत मोटरसाइकलवालासँग ५० रुपैयाँ लिन्छन् ।

चुनावका बेला नानाथरीका बाचा गरेर भोट उम्काउने त्यसपछि फर्केर नआउने अवस्था अन्त्य होस् भन्ने कामना उनीहरुको यसवर्ष छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)