२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महासमिति बैठक समापन गर्दै देउवाले भने– कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए


0
Shares

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक हुन नदिने तत्व परास्त भएको बताएका छन् ।

आइतबार साँझ पार्टीको महासमिति बैठक समापन गर्दै देउवाले पार्टी एकजुट हुनका लागि बैठक फलदायी भएको बताए । ‘पार्टी एकजुट भएको छ,’ उनले भने, ‘कांग्रेसमा विभाजन ल्याउन खोज्ने, पार्टीलाई एकजुट हुन नदिन चाहने तत्व परास्त भएका छन् ।’

सभापति देउवाले सरकारको अधिनायकवाद रोक्न कांग्रेसले आन्दोलनको घोषणा गर्न लागेको बताए । सरकारको रबैयाले जनता आजित भएकाले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीलाई एक बनाएको भन्दै पार्टीभित्र नयाँ रक्तसंचार छाएको बताए । यो एकताले कम्युनिष्टहरुलाई परास्त गर्न सकिने उनको विश्वास छ ।

पौडेलले कांग्रेसले गरेको बलिदानले अहिले कम्युनिष्टहरु सत्तामा पुग्न सफल भएको जिकिर गर्दैै अब मुलुकको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

मंसिर २९ गते सुरु भएको महासमिति बैठक नवौं दिन समापन गरिएको हो । पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवादका कारण बैठक लम्बिएको थियो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधानसहित विधान पारित गरिएको छ ।