
नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार राई विजयी भएका हुन् ।
विजयी रामकुमारले १८ हजार ३७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी विष्णुकुमारले १२ हजार २३९ मत प्राप्त गरे ।
खोटाङबाट २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजयी भएका रामकुमार राई अहिले प्रदेशसभा ‘ख’मा निर्वाचित भएका छन् ।
२०४१ सालमा मालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका राई खम्बूवान राष्ट्रिय मोर्चा, खम्बूवान र माओवादीनिकट लिम्बूवान मुक्ति मोर्चा मिलाएर बनेको किराती राष्ट्रिय मुक्ति मोर्चाको उपाध्यक्ष हुँदै हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यको भूमिकामा छन् ।
पार्टीभित्र सोझा र इमान्दार नेताको परिचय बनाएका राईसँग बहुदल आउनुअघि २५ दिन जेलनेल भोगेको, जनयुद्धकालमा बन्दुक बोकेर बिग्रेड कमिसारलगायत बनेको अनुभव छ ।
किराती मुक्ति मोर्चाबाट अलग्गिएपछि २०५९ सालमा बनेको किरात वर्कर्स पार्टीका केन्द्रीय सदस्य बनेका राई २०६० सालमा पुनः किरात वर्कर्स पार्टी र माओवादीको एकता भएपछि सगरमाथा–जनकपुर ब्यूरो सचिवालय सदस्य बनेका थिए ।
उनी २०५६ सालमा नेपाली सेनासँग भएको भिडन्तमा घाइते भएका थिए । पार्टीबाट उनले विभिन्न समयमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुरको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्