
प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ बढी मतले विजयी भएर रेकर्ड कायम गरेका हुन् ।
दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झन्डा फहराएका हुन् । खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् ।
गुरुङको यो मत सम्भवतः बहुदलपछिको निर्वाचनमा विजयी उम्मेदवारले पाएको सर्वाधिक मत हो ।
यसभन्दाअगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा–२ बाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले ल्याएका थिए ।
त्यस्तै, यो निर्वाचनमा अहिलेसम्मको परिणामलाई हेर्दा गुरुङ सबैभन्दा बढी मतान्तरसहित विजय हुने उम्मेदवार बनेका छन् ।
आफूलाई दोलखाली जनताले अत्याधिक मत दिएर विश्वास गरेको बताउँदै गुरुङले मतको सम्मान गरेर जाने उल्लेख गरे ।
‘इतिहास कायम गर्दा कस्तो लागेको छ ?’ भन्ने प्रश्नमा नवनिर्वाचित सांसद गुरुङले भने–‘यो नेपाली जनताको जित हो । वाम गठबन्धनको जित हो । नेपाली जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि खोजेका छन् । त्यसलाई सम्मान गरेर सबैलाई साथमा लिएर जान्छु ।’
त्यस्तै, दोलखा प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् ।
दोलखा प्रदेशसभा ‘ख’मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाइँले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका केशव चौलागाइँले १० हजार ८८० मत प्राप्त गरेका छन् ।
उता, रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर बढी मतले विजयी बनेका छन् । शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोपालजीजंग शाहले १५ हजार ६५९ मत प्राप्त गरेका छन् । शर्मा र शाहबीच १८ हजार ७४३ मतान्तर रहेको छ ।
रुकुम पश्चिममा ५५ हजार ३८५ मत खसेकोमा ५१ हजार ९१५ मत सदर र ३ हजार ४७० मत बदर भएको छ ।
रुकुमका जनताले आफूलाई पटक–पटक धेरै मतान्तरले विजयी गराएकामा खुसी व्यक्त गर्दै उनले भने–‘पश्चिम रुकुममा जनताले सधैं परिवर्तनकारी शक्तिलाई विश्वास गर्दै आएका छन् । यसपटक पनि माओवादी केन्द्र र वाम गठन्धनलाई विश्वास गरे । जनताको यो विश्वासलाई केन्द्रमा राखेर हामी अगाडि बढ्छौं ।’
यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटा पनि प्रतिस्पर्धीभन्दा १० हजार बढी मतान्तरले विजयी भएका छन् ।
पूर्वसन्चारमन्त्रीसमेत रहेका सापकोटाले बहालवाला सन्चारमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मत अन्तरले पराजित गरेका हुन् । सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेतले २९ हजार ७९८ मत प्राप्त गरेका छन् ।
सापकोटाले आफू र आफ्नो गठबन्धनलाई विजयी गराउने सिन्धुबासी जनताको भावनालाई सधैं सम्मान गरेर जाने संक्षिप्त प्रतिक्रिया दिए ।
यस्तै, धेरै मतान्तरसहित लमजुङ प्रदेशसभा ‘ख’बाट वाम गठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
एमाले सचिवसमेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याइ कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् ।
उनले वि.सं. २०६४ को संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए । उनी एमालेको तर्फबाट प्रदेश नम्बर–४ को मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।
यस्तै, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादव पनि प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन् ।
अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ बाट पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् ।
यादवले २१ हजार ६२० मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८४ मत पाएका छन् । उपेन्द्रलाई नेपाली कांग्रेस, राजपा नेपालले समर्थन गरेको थियो ।
यस्तै, काठमाडौं–२ मा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रतिस्पर्धीभन्दा झन्डै ११ हजार मतान्तरले विजयी भएका छन् ।
उनले २५ हजार ६३३ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार २०७ मत प्राप्त गरे ।
यसैगरी, धादिङमा पनि वाम गठबन्धनका भूमि त्रिपाठीले ४९ हजार १२१ मतका साथ विजयी भएका छन् । यो मतान्तर दोब्बर बढी हो ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याएका छन् । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नम्बर–१ मा ७९ हजार ४२३ मत खसेको थियो ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर–१ अन्तर्गत् प्रदेश ‘क’मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी भएका छन् । उनी कांग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी भएका हुन् । ६५ हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।
यसैगरी, सो क्षेत्रको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । ५२ हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्