Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेकपाका अध्यक्षद्वयप्रति झनै असन्तुष्टीः नेपाल, खनाल पनि खनिए


0
Shares

काठमाडौं । नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमाथि खनिएका छन् ।

जारी स्थायी समिति बैठकमा शनिबार उनीहरूले अध्यक्षद्वयको पार्टी तथा सरकार सञ्चालन कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरे ।

सरकार सञ्चालनमा पार्टीको भूमिका रहनुपर्ने माग गरे । सरकारका गतिविधिमा पार्टीलाई कुनै जानकारी नहुने तर त्यसको स्वामित्व पार्टीले लिनुपर्ने अवस्था छ ।

पार्टीमा छलफलबिनै हुने सरकारका निर्णयको स्वामित्व लिन अप्ठेरो भइरहेको भन्दै नेताहरूले यसअघि पनि प्रश्न उठाउँदै आएका थिए ।

नेताद्वयले पार्टी पद्धतिलाई ख्याल गरेर अघि बढ्न अध्यक्षहरूलाई चेतावनी दिए । ‘सरकारलाई पार्टीले चलाउने व्यवस्था हुनुपर्छ,’ नेपालले भने, ‘यो पार्टी एक दुई जनाले मात्र बनाएको होइन, सबैको पार्टी हो भन्ने बुझेर काम गरौं ।’ उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँटमा विधिभन्दा व्यक्ति हेरिएको भन्दै आपत्ति जनाए ।

प्रदेश इञ्चार्ज र अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोहोर्‍याए ।

एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो ।

गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्ज बनाएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि छ । नेपाल पनि यो निर्णयको विपक्षमा छन् ।

उनले पार्टीको तल्लो तह एकीकरण गर्दा सम्बन्धित कमिटीबीच वरिष्ठताका आधारमा गर्नुपर्ने बताए ।

‘प्रदेश कमिटी गठन गर्दा वरिष्ठता मिचिएको छ, विधिभन्दा व्यक्तिको अनुहार हेरिएको छ,’ नेपालले भने ।

उनले अध्यक्षहरूले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा आत्मप्रशंसा बढी रहेको भन्दै सन्तुष्टि जनाए ।

पार्टीभित्र छलफल र बैठक हुन नसकिरहेको प्रसंग निकाल्दै उनले प्रत्येक दुई महिनामा स्थायी समिति बैठक बस्ने व्यवस्था मिलाउन आग्रह गरे । -कान्तिपुर दैनिकबाट