
काठमाडौं, पुस ७ । प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शनिबार महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।
कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा कार्यरत् प्रहरीजवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएका थिए ।
दोलखाको बैतेश्वर गाउँपालिका–२, गैरीमुदी घर भएका २२ वर्षीय प्रहरीजवान श्रेष्ठ एकै गाउँको साथी रहेका उक्त प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएका थिए ।
प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली ‘अनलोड’ गर्नेक्रममा अकस्मात् पड्कन जाँदा प्रहरीजवान श्रेष्ठको बायाँ गालामा गोली लागेको बताइएको छ ।
गोली लागि घाइते भएका श्रेष्ठको इमाडोलस्थित किस्ट अस्पतालमा प्रारम्भिक उपचारपश्चात् महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्