२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत


0
Shares

दाङ, पुस ७ । दाङको तुलसीपुरमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै २३ जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुमा बसचालक दाङका मदन खत्री क्षेत्री, सहचालक गणेश विक, शिक्षक प्रदीप घिमिरे, विद्यार्थीहरु विजय घर्ती, कविता खत्री, सञ्जित रत्गैयाँ रहेका छन् ।

त्यसैगरी, जुम्लाका कुसुम रावल, हिम्मत बोहरा, वीरेन्द्र कडारा, शैलजा शाही, रुपेश शाही, रितेन्द्र शाही, देवीप्रसाद उपाध्याय, जंगबहादुर विक, अर्जुन शाही, विपना खत्री, रमेश उपाध्याय रहेका छन् ।

अर्का शिक्षक रुकुमका नरेश वलीको पनि मृत्यु भएको छ ।

यस्तै, मृतक डोल्पाका गजेन्द्र ऐरी, जाजरकोटका आतिस नेपाली, कन्चनपुरका खेमराज भट्टको सनाखत भएको छ ।

त्यसैगरी, बझाङका महेश जोशी, बाजुराका लोकेन्द्र रावलको पनि सनाखत भएको छ ।

मृतकमध्ये १९ पुरुष र चार महिला रहेका छन् ।

घाइते १२ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा र दुईजनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जनाको घटनास्थलमै र एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातावरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पति उद्यानको अध्ययन गरेर फर्कनेक्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बा४ख ९७६६ नम्बरको बस रिर्जभ गरेर विद्यार्थी र शिक्षकहरु भ्रमणमा गएका थिए ।