काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान मस्यौदा पेश हुने भएको छ ।
मुख्य विषयमा शीर्ष नेताहरुबीच सहमति जुटेसँगै हिजो बसेको केन्द्रीय समितिले पारित गरेको विधानको मस्यौदा आज महासमिति बैठकमा पेश गर्न लागिएको हो ।
महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गत मंसिर ९ गते प्रस्तुत गरेको विधान संशोधनसहित हिजो पारित भएको थियो ।
केन्द्रीय समितिका तर्फबाट महामन्त्री खड्काले नै आज बस्ने महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्ने कांग्रेसले जनाएको छ । यस विषयमा आजैदेखि छलफल हुने बताइएको छ ।
विधानमा समावेशी आधारलाई अबलम्बन गर्दै सहमहामन्त्रीको संख्या ८ पुर्याइएको छ ।
यस्तै केन्द्रीय सदस्यको संख्या १६७, एक सभापति, दुई उपसभापति, दुई महामन्त्री रहने सहमति बनेको छ ।
८ सहमहामन्त्रीमा संविधानको धारा ४२ मा रहेको समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ । खसआर्य, महिला, दलित, जनजाति, मुस्लिम, थारु, मधेसी र पिछडिएको क्षेत्रबाट क्लस्टर अनुसार चुनाव हुनेछ ।









प्रतिक्रिया दिनुहोस्