२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो


0
Shares

कांग्रेसलाई प्रतिनिधिसभातर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुँदा प्रदेशसभातर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ ।

प्रतिनिधिसभातर्फ एमालेलाई १२ हजार ६६ र प्रदेशसभातर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी अवस्थीले जानकारी दिए ।

त्यस्तै, प्रतिनिधिसभातर्फ सात हजार ६७३ र प्रदेशसभातर्फ ८ हजार ३१ मत प्राप्त गरी माओवादी केन्द्र तेस्रो भएको छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५८५ र प्रदेशसभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको छ ।

समानुपातिकमा बदर मत अत्याधिक
सोलुखुम्बुमा समानुपातिकतर्फको मत अत्याधिक मात्रामा बदर भएको छ । वाम र लोकतान्त्रिक गठबन्धनका कारण मतदाताहरुलाई मत जाहेर गर्न दुविधा भएको देखिएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको एउटै मतपत्र हुनु, पर्याप्त मात्रामा मतदाता शिक्षाको अभाव र गठबन्धनका कारण उब्जिएको अन्योलता नै मत बदरको कारक हुनसक्ने जानकारहरु बताउँछन् ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा चार हजार ६४९ मत अर्थात् कुल मतको ११ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभातर्फ १६ प्रतिशत अर्थात् ६ हजार ७६३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रत्यक्षको प्रतिनिधिसभातर्फ एक हजार ८८६ मत बदर भएको छ भने प्रदेशसभा ‘क’मा ८४७ र प्रदेश ‘ख’मा ७४३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बदर भएका अधिकांश एउटै मतपत्रमा दुई वा सोभन्दा बढी स्वस्तिक छाप लगाएको पाइएको छ ।

एमाले–माओवादीको तालमेल र मतदाता शिक्षाको कमीले बढी मत बदर भएको हुनसक्ने अनुमान गरिएको छ । सोलुखुम्बुमा कुल ४१ हजार ४२० मत खसेको थियो ।