काठमाडौं, पुस ६ । नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा छानबिन गर्न गठित उपसमितिले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र अर्थसचिव राजन खनालसँग सोधपुछ गरेको छ ।
विमान खरिदकाक्रममा अर्थ मन्त्रालय जमानी बसेको र पैसा पठाउन राष्ट्र बैंकले स्वीकृति दिएको विषयमा उपसमितिले उनीहरुसँग शुक्रबार सोधपुछ गरेको हो ।
उपसमितिले के आधारमा अर्थ मन्त्रालय जमानी बसेको र के आधारमा राष्ट्र बैंकले पैसा पठाउन स्वीकृति दिएको भनेर सोधेको थियो ।
अर्थसचिव खनालले ऋण तथा जमानत ऐनअनुसार नै नयाँ विमान खरिदका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको र सरकार जमानी बसेको उपसमितिलाई जानकारी गराएका छन् ।
नयाँ विमान किन्न सरकार जमानी बस्नुपर्ने व्यवस्थाअनुसार नै सरकार जमानी बसेको उनले बताए ।
पर्यटन मन्त्रालयले विमान खरिदका लागि जमानी बस्न आग्रह गरेको र सोहीअनुसार अर्थ मन्त्रालयले सहमति दिइ सरकार जमानी बसेको उनको भनाइ थियो ।
विमान मन्त्रिपरिषदको निर्णयअनुसार खरिद गरिएको पनि उनले उपसमितिलाई जानकारी दिए ।
गभर्नर र अर्थ सचिवसँगको छलफलपछि उपसमितिले छानबिन प्रतिवेदन तयार गर्ने जनाइएको छ ।
प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले उपसमितिलाई प्रतिवेदन पेस गर्न दिएको १५ दिनको समयावधि यही ११ गते पूरा हुँदैछ ।
विमान खरिदकाक्रममा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा आएपछि लेखा समितिले पटक–पटक छलफल गरी छानबिन गर्न उपसमिति गठन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्