२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस कार्यसमितिमा १४ जना पदाधिकारी राख्ने सहमति


0
Shares

काठमाडौं, पुस ६ । अन्ततः १४ जना पदाधिकारी रहनेगरी नेपाली कांग्रेसको विधानमा सहमति भएको छ ।

केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले १४ जना पदाधिकारी राख्नेगरी विधान संशोधन गर्ने प्रस्तावलाई पारित गरेको हो ।

उक्त प्रस्तावसहितको संशोधित विधान महासमिति बैठकमा अनुमोदनका लागि लगिनेछ ।

सहमतिअनुसार कांग्रेसमा अब एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, ८ जना सहमहामन्त्री र कोषाध्यक्ष एकजना रहनेछन् ।

कोषाध्यक्षबाहेक १३ जना प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ भने सहमहामन्त्रीहरु संविधानले व्यवस्था गरेको ‘क्लस्टर’को आधारमा निर्वाचित हुनेछन् ।

शीर्ष नेताहरुको तहमा सहमति भएपछि केन्द्रीय समितिबाट नयाँ सहमति पारित गरिएको हो ।

विधानमा सहमति जुट्न नसक्दा पुस ३ गते नै सम्पन्न हुनुपर्ने महासमिति बैठक अझै सकिएको छैन ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संविधानले व्यवस्था गरेका सबै प्रक्रिया पूरा गर्ने राजनीतिक दलकारुपमा कांग्रेस पहिलो भएको दाबी गरे ।

विधानको छपाइ भएपछि महासमिति बैठकमा पेस गरिने भन्दै उनले महासमितिमा पर्याप्त छलफल गरेरमात्रै पारित गरिने बताए ।

यसअघि, शुक्रबार बिहान बसेको महाममिति बैठकमा बोल्ने बहुसंख्यक प्रतिनिधिले तत्काल विधान उपलब्ध गराउन माग गरेका थिए ।

यस्तै, महाममिति बैठकमा हिन्दुराष्ट्र बनाउनुपर्ने मागसहितको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

बन्दसत्रमा बोल्दै डडेल्धुराका सभापति कर्ण मल्लले महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरेको हिन्दुराष्ट्रको प्रस्ताव महासमितिबाट पारित गर्नुपर्ने माग गरे ।

प्रस्तावमा ७०० बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् ।