२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


लमजुङमा २५ मध्ये १९ उम्मेदवारको जमानत जफत


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका लमजुङ जिल्लाका २५ जनामध्ये १९ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

वाम गठबन्धनका तीनजना विजयी हुँदा प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तीनजनाको जमानत जोगिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम १९ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ मा निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

सो व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० दल र एक स्वतन्त्रसहित ११ जनाको जमानत जफत भएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘क’तर्फ ६ दल र प्रदेशसभा सदस्य ‘ख’तर्फ ७ दल र एक स्वतन्त्रसहित ८ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालका खेमजंग गुरुङ, नयाँ शक्ति पार्टीका देवेन्द्र पराजुली, विवेकशील साझा पार्टीका निर्देश सिलवाल, जनसमाजवादीका निराजन कुँवर, देशभक्त समाजका मेत्तर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका यमबहादुर थापामगर, देशभक्त जनगणतान्त्रिकका सुरेशचन्द्र न्यौपाने, मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ र स्वतन्त्रका द्धारिकाप्रसाद मिश्रको जमानत जफत भएको हो ।

यस्तै प्रदेशसभा ‘क’तर्फ संघीय समाजवादी फोरमका ईन्द्रबहादुर गुरुङ, विवेकशील साझाका तुल्सीराम गुरुङ, जनसमाजवादीका बुद्धिमान परियार र नयाँ शक्तिका राजु थापाको जमानत जफत भयो ।

यसैगरी प्रदेशसभा ‘ख’मा नयाँ शक्तिका सरोजकुमार दनाई, विवेकशील साझाका मुनिन्द्र थापा, संघीय समाजवादी फोरमका सुरेशकुमार गुरुङ, जनसमाजवादीका हर्के सार्की, अमुल परिवर्तन मसिहा पार्टीका नन्दजंग गुरुङ र स्वतन्त्रका उत्तम गुरुङले जमानत जोगाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्यमा ११ जनाको १० हजार रुपैयाँका दरले १ लाख १० हजार तथा प्रदेशसभा सदस्यमा ८ जनाको ५ हजार रुपैयाँका दरले ४० हजार गरी कुल १ लाख ५० हजार रुपैयाँ जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।