Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकारको काम सन्तोषजनक : नेम्वाङ


0
Shares

काठमाडौं, पुस ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शुक्रबार बोल्ने अधिकांश नेताले सरकार र पार्टीको बचाउ गरेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा उनीहरुले सरकारले गरेको काम पर्याप्त नभएपनि सन्तोषजनक रहेको भन्दै बचाउ गरेका हुन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत् गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, मणि थापाले आ–आफ्नो धारणा राखेका थिए ।

नेता नेम्वाङले सरकारका केही कमजोरी भएपनि सच्चिन समय भएको भन्दै सरकारको काम सन्तोषजनक भएको बताए ।

उनले विवादास्पद गैरसरकारी संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताप्रति भने आपत्ति जनाएका थिए ।

बैठकमा नेता श्रेष्ठले भने सरकार र पार्टीको खुलेरै आलोचना गरेका थिए ।

उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनस्तरमा पार्टीको आलोचना हुने गरेको बताए ।

नेता शेरचनले वैदेशिक मामिलामा पार्टी र सरकारले समान धारणा बनाउन नसकेको बताएका थिए ।

नेकपाको स्थायी कमिटीको बैठक शनिबार पनि बस्नेछ । नेताहरुले उठाएको प्रश्नको अध्यक्षद्वयले शनिबारै नै जवाफ दिने बताइएको छ ।