काठमाडौं, पुस ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा आज पनि नेतृत्वको आलोचना भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा आज सातजना सदस्यले आफ्ना धारणा राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने स्थायी कमिटीका अधिकांश सदस्यहरुले पार्टी र सरकार सञ्चालनको विधि गलत भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको र पार्टी एकीकृत प्रक्रिया टुंगो लाग्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी एकता घोषणा भएको लामो समयसम्म पनि एकता प्रक्रियालाई टुृंग्याउन नसकेको, पार्टी क्रियाशील हुन नसकेकोलगायतका विषयमा उनीहरुले नेतृत्वको कडा आलोचना गरेको स्रोतले जनायो ।
आजको बैठकमा मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो धारणा राखे ।
गत मंसिर २९ गतेदेखि जारी स्थायी कमिटीको बैठकमा आज सदस्यहरुले धारणा राख्ने क्रम अझै सकिएको छैन । स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा आजसम्म ४१ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।
आजको बैठक भोलि बिहान ८ बजे फेरि बस्ने गरी स्थगित भएको पार्टी महासचिव विष्णु पौडेलले जनाए ।









प्रतिक्रिया दिनुहोस्