Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस महासमिति बैठक ‘अनिर्णयको बन्दी’, यसरी भाँडियो सहमति


0
Shares

काठमाडौं, पुस ६ । विधान मस्यौदा संशोधनमा भएको सहमतिबाट सभापति शेरबहादुर देउवा पछि हटेपछि कांग्रेस महासमिति बैठक अनिर्णयको बन्दी बनेको छ ।

पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएपछि महासमितिको बैठक नै लथालिंग भएको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवाले पछि आफ्नो बोली परिवर्तन गर्दै एक उपसभापति र एक महामन्त्री मनोनित गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

पूर्वसहमति कार्यान्वयनबाट पछि हटेको भन्दै देउवानिकट केही केन्द्रीय सदस्यसमेत असन्तुष्ट बनेका छन् । उनीहरुले आफैंले गरेको सहमतिबाट पछि फर्केपछि नेतृत्वमाथि नै प्रश्न उठाउन थालेका छन् ।

समावेशीको नारा दिएर मनोनित कोटा बढाउन खोजेको भन्दै पौडेल पक्ष देउवाप्रति आक्रोसित बनेको हो । हिजो बिहानको बैठकमा पदाधिकारीलाई समावेशी बनाउन सात सहमहामन्त्री थप्ने समझदारी जुटेको थियो । पार्टीमा सात जातीय क्लस्टर छन् । सबै जातीको प्रतिनिधित्व र हुनेगरी ७ सहमहामन्त्री थप्ने र कोषाध्यबाहेक सबैको निर्वाचन गर्ने सहमति भएको थियो । साँझ भने देउवाले उपसभापति र महामन्त्री मनोनित गर्नुपर्ने प्रस्ताव ल्याएपछि सहमति भाँडिएको हो ।