Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


लुकेर रहेका कुष्ठरोगीको खोजी गरिने


0
Shares

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वेक्षण गर्दैछ ।

महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा.रवीन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिए । उनले भने, ‘आव २०७३/०७४ मा बढेर ०.९२ प्रतिशत पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।’

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोपदर प्रति १० हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ०.७७ प्रतिशत कुष्ठरोगी रहेको घोषणा भए पनि अझै निवारण गर्नुपर्ने अवस्था छ ।

सुरुकै अवस्थामा नै रोगी पहिचान गरी अन्य रोग सर्नबाट र अपांगतायुक्त हुनबाट बचाउन र एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेक्षणले मद्दत पुग्ने बताइएको छ ।

एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको सर्वेक्षणका लागि रु एक करोड खर्च हुनेछ । आव २०७३/०७४ मा ३ हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२० (विसं २०७७) भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । रासस