
छोरा जन्माउने महिलालाई ३ हजार रुपैयाँ र छोरी जन्माउनेलाई ५ हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गर्न सुरु गरिएको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनपछि पदभार ग्रहण गरेलगत्तै बसेको नगरकार्य समितिको बैठकले गरेको निर्णयअनुसार शनिबार पहिलोपटक नगरपालिकाको १२ ओटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको हो ।
जिल्लामै पहिलो प्रयास स्वरुप सुत्केरी महिलाले पोषणको अभाव झेल्नु नपरोस भनेर आफूहरुले यस्तो अभियानको सुरुवात गरेको नगरपालिका प्रमुख थापाले बताए । अझैपनि समाजमा छोरा र छोरीबीचमा विभेद भैरहेको छ, नगरप्रमुख थापाले भने, ‘हामीले यो अभियानको सुरुवात गरेपछि यस्तो विभेदमा कमी आउने र चेतना अभिवृद्धि हुने अपेक्षा गरेका छौँ ।’
सुत्केरी महिलालाई पोषणभत्ता वितरण गर्दै नगरप्रमुख थापाले आफ्नो कार्यकालभरी यो अभियानलाई निरन्तररुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
समाजमा रहेको छोरा र छोरीबीचको विभेद तथा छोरी जन्मदा सुत्केरी महिला अपहेलित हुनुपर्ने कारण पनि आफुहरुले छोरा र छोरी जन्माउने सुत्केरीलाई फरक–फरक भत्ताको व्यवस्था गरेको नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन ।
नेपाल सरकारले स्वास्थ्य चौकीमा प्रसुती गराउने महिलालाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्लामा १ हजार र तराईमा ५ सय दिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्