Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नारायणगढ–मुग्लिन सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारबाट ७५ लाख जरिवाना असुल


0
Shares

सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खन्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिलो खन्ड आँपटारीदेखि झन्डै १३ किमि सडकखन्ड निर्माणको जिम्मा लिएको बीएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खन्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

पहिलो खन्डको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट रु ८ लाख र तेस्रो खन्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट रु ६७ लाख जरिवाना असुल गरिएको छ ।

खनालकाअनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको छ ।

सो सडकखन्ड दुई वर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो । पहिलो खन्डको रु ६१ करोड, दोस्रो खन्डको रु ९८ करोड र तेस्रो खन्डको रु एक अर्ब ३१ करोडमा ठेक्का दिइएको थियो ।

खनालकाअनुसार ठेक्का दिँदा समयलाई तीन भागमा विभाजन गरेर पहिलो ८ महिनामा १५ प्रतिशत, दोस्रो ८ महिनामा ५० प्रतिशत र तेस्रो ८ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने शर्त राखिएको थियो ।

दोस्रो ८ महिनाको समयमा ५० प्रतिशत काम सम्पन्न नगरेपछि पहिलो खन्ड र तेस्रो खन्डका निर्माणमा कम्पनी जरिवानामा परेका हुन् ।

भूकम्प, नाकाबन्दी, चक्काजामलगायतका कारण थप भएको समयसीमामा पनि काम सम्पन्न नगरेपछि उनीहरुलाई जरिवाना गरिएको हो ।

पहिलो ८ महिनामा निर्धारित् काम नभएमा शून्य दशमलव ००७५ प्रतिशत, दोस्रो ८ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०२५ प्रतिशत र तेस्रो ८ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०५ प्रतिशत जरिवाना गरिने सम्झौता गरिएको थियो ।

कुल ३२ दशमलव २ किमि लम्बाइ रहेको सो सडकको हालसम्म १३ दशमलव ५ किमि सडकको एक तहको कालोपत्र भएको छ । तीन तह कालोपत्र गर्नुपर्ने हुन्छ । बाँकी भागको कालोपत्र र ८०० मिटर भित्तो काट्ने काम बाँकी नै रहेको छ ।

सन् २०१५ को अप्रिलमा दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी तीनओटा निर्माण कम्पनीलाई सो सडकको ठेक्का दिइएको थियो ।

राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकतामा रहेको यो सडकमा विभिन्न बहानामा निर्माण कम्पनीले निर्माणमा ढिलाइ गरिरहेका छन् ।

तेस्रोपटक मिति थप गरेपछि पहिलो खन्ड आँपटारीदेखि झन्डै १३ किमि सडकखन्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खन्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि अब २०१८ फेब्रुअरीसम्म पुगेको छ ।

पहिलो खन्डको मिति फेब्रुअरी १४ र तेस्रो खन्डको फेब्रुअरी २० सम्म मिति थप गरिएको छ ।

गएको चैत महिनायता पहिरो, वर्षा, दुईपटकको निर्वाचनलगायतका कारण काम रोकिएको र त्यो समयको म्याद थप गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

खनालकाअनुसार बढीमा ४५ दिनसम्म म्याद थप हुनसक्ने देखिएको छ । आउँदो चैत मसान्तसम्ममा सडक सम्पन्न हुनुपर्ने उनले बताए ।

हालसम्म सडकको ६६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । पहिलो खन्डमा ६७ दशमलव १ प्रतिशत, दोस्रो खन्डमा ६९ दशमलव ५ प्रतिशत र तेस्रो खन्डमा ५८ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

एसियन हाइवेअन्तर्गतको एएच ४ टु खन्डअन्तर्गत् नारायणगढ–मुग्लिन सडकखन्ड पर्छ । चीन हुँदै नेपालको कोदारी–काठमाडौं, नागढुंगा–नौबिसे, मुग्लिन–नारायणगढ, हेटौंडा–वीरगन्ज हुँदै भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खन्ड हो ।

राजधानी काठमाडौंबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।