चिसोको कारण वृद्धवृद्धा, बालबालिकादेखि सवारी चालकहरुसमेत मारमा परेका छन् ।
हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।
घाम छेक्ने बाक्लो हुस्सुले अहिले तराईको जनजीवन निक्कै कस्टकर बनाएको छ । तराईका बासिन्दाले तीन दिनदेखि घाम हेर्नसम्म पाएका छैनन् ।
तराईका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्ला शीतलहरको चपेटमा बढी परेका छन् ।
यस क्षेत्रका बासिन्दाको काम अहिले दिनभर आगो ताप्नुमै सीमित छ । बढ्दो हुस्सुकै कारण सडकमा यातायातका साधन निक्कै पातलिएको छ । बाक्लो हुस्सुले दिउँसै गाडी चलाउँदा पनि बत्ती बाल्नुपर्ने बाध्यता छ ।
चिसोका कारण सबैभन्दा बढी पीडित दलित र विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका छन् ।
रिक्सा र टांगा चलाएर तथा खेतबारीको काम गरेर दैनिक जीवन गुजारा गर्नुपर्ने मजदुर र विपन्न वर्गका मानिस बढी मारमा परेको पाइएको छ ।
बाक्लो हुस्सु र शीतलहरले गर्दा अहिले तराईका जिल्लाहरुमा पटक–पटक हवाई सेवा पनि अवरुद्ध हुँदै आएको छ ।
अस्पतालमा निमोनिया, रुघाखोकीजस्ताका बिरामी बढेकाले चिसोबाट बच्न चिकित्सकले सल्लाह दिएका छन् ।
कार्यालयहरुमा कर्मचारी कम देखिन्छन् भने बजारमा चहलपहलसमेत ह्वात्तै घटेको छ ।
गरिब समुदायका बासिन्दा जाडोको जोहो गर्न परालको मान्द्रो बुन्न थालेका छन् भने धनी वर्गका बासिन्दा सिरक बनाउन लागेको दृष्य अहिले तराईका जिल्लामा देख्न सकिन्छ ।
चिसो बढेसँगै मध्यपूर्वी जिल्लाका सर्वसाधारणले चोक–चोकमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइदिन सरकारसँग माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्