Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कहाँ बन्ला प्रदेश नम्बर ७ को राजधानी, यी हुन् संभावित स्थान


0
Shares

 

प्रदेश नम्बर ७ को राजधानी कहाँ हुने भन्ने राजनीतिक वृत्तमा मात्र नभएर आम नागरिकबीचमा पनि चर्चा र बहसको विषय बनिरहेको छ ।

प्रदेशको नामाकरण र राजधानी तोक्ने अधिकार संविधानले प्रदेशसभालाई दिएको छ । प्रदेशसभाको पहिलो बैठक बस्न सरकारले अस्थायी राजधानी भने तोक्नु पर्ने छ ।

पूर्वाधारलगायतका कारण डोटीको दिपायल वा कैलालीको धनगढी-अत्तरियामध्ये एक ठाउँ राजधानी हुनसक्ने संभावना छ ।

क्षेत्रीय प्रशासन कार्यालयले संभावित राजधानीका रुपमा हेरिएका यी क्षेत्रमा रहेका सरकारी कार्यालयलगायत संरचनाको विवरण संकलन गरेर केन्द्रमा पठाइसकेको छ ।

सरकारले सरकारी भवनहरुको विवरण संकलन गर्नुले अस्थायी राजधानी पनि यी दुई ठाउँमध्ये एक ठाउँलाई तोक्ने संभावना देखिन्छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पनि प्रदेशको संसद भवन, मुख्यमन्त्री निवास, मन्त्रालय राख्न असकिने बारे धनगढी, अत्तरिया र दिपायलमा भएका सरकारी संरचनालगायतको अध्ययन गरिरहेको छ ।

धनगढी र दिपायलमा रहेका सरकारी संरचनाहरुको विवरण केन्द्रमा पठाइएको सुदूरपश्चिमका क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलले बताए ।

‘केन्द्रको मागअनुसार यी दुई ठाउँमा यस्ता/यस्ता सरकारी भवन छन् भनेर विवरण पठाएका छौं । अस्थायी राजधानीको निर्णय सरकारले नै गर्ला,’ उनले भने ।

जनघनत्व, सुगमता, पूर्वाधारको अवस्था आदिलाई हेरेर धनगढी-अत्तरिया नै प्रदेशको राजधानी हुनुपर्ने तर्क कतिपयको छ भने सुरक्षा, भौगोलिक अवस्था, ऐतिहासिकता आदि आधारमा दिपायमा राजधानी हुनुपर्ने तर्क अर्कोथरीको छ ।

सुरक्षाका कारण पनि दुई देशको सीमा नजिक राजधानी उपयुक्त नभएकाले दिपायल हुनुपर्ने तर्क कतिपयको छ ।

राजधानी कहाँ हुने भन्नेबारे राजनीतिक दल र दलहरुभित्र पनि नेताहरुका फरक फरक धारणा देखिन्छन ।

कैलाली, कञ्चनपुरका नेताहरुको धारणा प्रदेशको राजधानी तराई हुनुपर्ने छ भने पहाडी जिल्लाका नेताहरुको पहाडमा हुनुपर्ने धारणा देखिन्छ ।

प्रदेशसभा सदस्यका फरक-फरक धारण

प्रदेश नम्बर ७ बाट निर्वाचित प्रदेश सभा सदस्यहरुका राजधानीबारे फरकफरक धारणा छन् । केहीले राजधानी पहाडी क्षेत्रमा हुनुपर्ने बताएका छन् भने कतिपयले कैलाली हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘पदेशको राजधानी धनगढी–अत्तरिया हुुनुपर्ने ३ वटा कारण छन् ।’ कैलालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित माओवादी नेता बीरमान चौधरीले भने, ‘यातायातको सुगमता, भूगोल र जनसंख्याका आधारमा राजधानी धनगढी वा अत्तरियामध्ये एक ठाउँ हुनुपर्छ ।’

प्रदेश नम्बर ७ मा कैलालीमा निर्वाचन संख्या बढी हुनु, जनघनत्व बढी हुनु, पूर्वाधार हुनु र पूर्वाधार बनाउन सहज हुनुले पनि राजधानी कैलालीमा हुनुपर्ने उनको भनाई छ ।

तराईमा राजधानी बनाएर पहाडी जिल्लाहरुको पनि विकासमा ध्यान दिनुपर्ने उनले बताए ।

ऐतिहासिक निरन्तरता, भौगोलिक अवस्थिति, उच्च अदालत र प्रहरीको प्रादेशिक कार्यालय हुनुले प्रदेशको राजधानी डोटी हुनुपर्ने तर्क त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य भरत खड्काको छ ।

‘५ विकास क्षेत्र हुँदा पनि क्षेत्रीय सदरमुकाम दिपायल नै थियो । तत्कालिन सुदूरपश्चिम विकास क्षेत्र सिंगै अहिले प्रदेश नम्बर ७ बनेको छ ।’ उनले भने, ‘यसअघिको क्षेत्रीय सदरमुकाम अब राजधानी किन बन्न सक्दैन ?’

तराईमा राजधानी बनाउँदा तराईमा जनघनत्व बढ्ने र पहाडी जिल्लाका धेरै क्षेत्रहरु मानव विहिन हुनसक्ने खतरा रहेको उनले बताए । प्रदेश सभा सदस्य खड्काले भने, ‘कैलाली, कञ्चनपुर यहाँका अन्य पहाडी जिल्ला भन्दा उसै पनि विकसित छन् । राजधानी त्यहीं हँुदा पहाडी जिल्ला अझै पछाडि पर्छन ।’

यसले बसाई-सराई बढ्ने र थामिनसक्नु जनसंख्याको तराईको उर्बर भूमि नासिने उनको भनाई छ ।

पहाडी क्षेत्रमा बसोबास गर्नेलाई समेत हेरेर दिपायलमा राजधानी हुनुपर्ने उल्लेख गर्दै उनले राजधानीबारेमा धेरै विवाद आवश्यक नरहेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण सुवेदीले भने सुदूरपश्चिमका ९ वटै जिल्लाको प्रवेशद्धारका रुपमा रहेको अत्तरिया नै राजधानीका लागि सबै भन्दा उपयुक्त रहेको दावी गरे ।

अत्तरियादेखि गोदावरीसम्म राजधानी बनाईनुपर्ने उनको भनाई छ ।

सुवेदीले भने, ‘गोदावरीमा सडक डिभिजन कार्यालयका भवनहरु पनि छन् । पहाडको फेदसम्म राजधानी बनाउँदा यसले पहाड र तराई दुवैलाई समेट्न सक्छ ।’ कैलाली, कञ्चनपुरमा ठूलो जनसंख्या रहेको थारु र रानाथारु समुदायको भावना प्रतिनिधित्व गर्न पनि तराईमा राजधानी आवश्यक रहेको उनको तर्क छ ।

‘यो समुदायले थरुहट प्रदेशको माग गर्दै विगतमा लामो आन्दोलन गर्‍यो । उनीहरुको भावना समेट्नका लागि पनि प्रदेशको राजधानी अत्तरिया उपयुक्त हुन्छ ।’ सुवेदीले भने, ‘हाम्रो पार्टी एमालेले दुई वर्षअघि नै प्रदेशको राजधानी अत्तरिया हुनुपर्ने निर्णय गरिसकेको छ । प्रदेश सभामा पनि म प्रदेशको राजधानी अत्तरिया बनाउन पहल गर्ने छु ।’

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित पठानसिंह बोहराले कैलाली र डोटीमध्ये कहाँ बनाउने भन्ने विवाद देखिएमा राजधानीका लागि डडेल्धुरा उपयुक्त हुने बताए ।

डडेल्धुरा बनाउँदा पहाड र तराईलाई न्याय पनि हुने र भौगोलिक रुपमा पनि सबैलाई बराबर पर्ने उनले बताए ।

‘राजधानी सबैलाई पायक पर्ने गरि राखिनु पर्छ । टाढा र असुविधा हुने ठाउँमा राखिनु हुन्न ।’ उनले भने, ‘डडेल्धुरा पहाडी जिल्लाको ट्रान्जिट प्वाईन्ट पनि छ ।

राजधानी तोकिए पूर्वाधार निर्माण गर्न सकिन्छ ।’ जातजातीका आधारमा भन्दा पनि भौगोलिक रुपमा सबै जिल्लाका बासिन्दालाई सुविधा पुग्ने गरि राजधानी बनाईनुपर्ने बोहराको धारणा छ ।

प्रदेश सभामा बामगठबन्धनको दुई तिहाई बहुमत छ । माओवादी प्रभावशाली नेता लेखराज भट्ट अत्तरियालाई राजधानी बनाउनु पर्ने पक्षमा छन् र एमाले नेताहरु पनि अत्तरिया नै हुनुपर्ने पक्षमा रहेकाले राजधानीका लागि अत्तरियाको संभावना बढी रहेको कतिपयको बुझाई छ ।