Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भारतीय पक्षको अवरोधले ठोरीमा निर्माण गरिएको पुल संचालनमा आएन


0
Shares

पर्सा । पर्साको दुर्गम गाउँपालिकाको रुपमा रहेको ठोरी बजार तथा गाउँलाई जोड्ने पुल निर्माण भएको ६ महिना वितिसक्दा पनि संचालनमा आएको छैन ।

नेपाल र भारतका स्थानीयबीच सहमति नहुंदा पुल निर्माण भए पनि संचालनमा नआएको हो ।

वीरगंज–ठोरी हुलाकी सडकखण्ड योजनाअन्तर्गत निर्माण भएको पुल सरकारी उदासिनताको कारण अलपत्र परेको स्थानीयले आरोप लगाएका छन् ।

पुलको पूर्वतर्फ एप्रोच सडक नबन्दा यो अवस्था आएको हो । ठोरी गाउँपालिकाको सीमानामा पर्ने यो पुलको पूर्वतर्फ एप्रोच सडक बनाउँदा भारतीय सिमावर्ती जनताको अवरोधको कारण रोकिएको हो ।

सिमावर्ती गाउँ भिखना–ठोरीका बासिन्दाले खोलाबाट निकालिएको कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद गरेपछि ठेकेदार कम्पनीले काम छोडेको थियो ।

बर्षौंदेखि भारतीयहरुले त्यो कुलो कृषिको लागी प्रयोग गर्दै आएको भन्दै अवरोध गरेका हुन् ।

ठोरीबासीले भने सडक निर्माणका लागि कुलो पुरेर सडक संचालन गर्नुपर्ने अडान राखेका छन् ।

त्यहाँ रहेका ३ वटा कुलोमध्ये एउटा मात्र नेपाली पक्षले प्रयोग गर्दै आएको छ ।

पुल नजिकका २ वटा कुलो संचालन गर्न दिंदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेर एप्रोच रोड बनाउनुपर्ने दवाव ठोरीबासीको छ ।

भारतीय पक्षले नेपाली भूमीमा बग्ने यो खोलाको मुहान प्रयोग गरी नेपालमै बनाइएको कुलोबाट वर्षौदेखि सिंचाईको लागि प्रयोग गर्दै आइरहेका छन् ।

ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ ठुटे खोलाको पुलबाट आवागमन सुचारु भए ठोरीले विकासको फड्को मार्ने बताउँछन् ।

उनले समस्या समाधानको लागि भारतीय गाउँ भिखनाठोरीका जनप्रतिनिधिहरुसंग पटक–पटक छलफल गरिरहेको जानकारी दिए ।