२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी’


0
Shares

राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदन बुधबार राजधानीमा सार्वजनिक गर्दै नेपालमा २८.६ प्रतिशत बहुआयामिक गरिब रहेको जनाइएको हो ।

यसअघि, एकल विधिबाट गरिएको अध्ययनले भने गरिबीको दर घटेर २१.४ प्रतिशत रहेको जनाएको थियो ।

अन्तर्राष्ट्रिय विधि मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स (एमपीआई)बाट गरिबीको मापन गर्दा पनि गरिबीको दर भने घट्दै गएको आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले बताए ।

प्रतिवेदनअनुसार प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी रहेको छ ।

प्रदेश नम्बर–६ मा सबैभन्दा बढी ५१.२ तथा प्रदेश नम्बर–२ मा ४७.९ प्रतिशत गरिबी रहेको अध्ययनले देखाएको छ ।

प्रदेश नम्बर–३ मा भने गरिबीको संख्या सबैभन्दा कम अर्थात् १२.२ प्रतिशत छ ।

अध्ययनले सहरमा ७ प्रतिशत र ग्रामीणमा ३३ प्रतिशत जनसंख्या बहुआयामिक गरिब रहेको जनाएको छ । कुपोषण र कम शिक्षाका कारण ग्रामीण क्षेत्रमा गरिब धेरै रहेको ठहर प्रतिवेदनको छ ।

गरिबीलाई फरक तरिकाले मापन गरिएको भन्दै उपाध्यक्ष वाग्लेले यो प्रतिवेदनले प्रदेशहरुलाई स्रोत व्यवस्थापनका विषयमा नीति बनाउन वैज्ञानिक आधार दिने बताए ।

प्रतिवेदनअनुसार प्रत्येक एक हजार मानिसमध्ये २८६ जना बहुआयामिक गरिब छन् ।

शिक्षा, स्वास्थ्य र जीवनस्तर तीन डाइमेन्सन र १० ओटा ‘इन्डिकेटर’लाई आधार मानेर अध्ययन गरिएको आयोगले जनाएको छ ।

यसपटक प्रदेशलाईसमेत जोडेर अध्ययन गरिएको र आगामी दिनमा ७५३ ओटा स्थानीय तहमा नै अध्ययन गरिने आयोगले जनाएको छ । अध्ययन १२ हजार घरपरिवार र ५४ हजार ३०० जनामा गरिएको गरिएको थियो ।