
प्रदेशसभामा समानुपातिक दलले पाउने सिट संख्या टुंगो लागेपनि सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक गर्न भने अझै केही समय लाग्नेछ ।
प्रदेशसभाका कुल ५५० सिटमध्ये २२० सिट समानुपातिक प्रणालीबाट र ३३० सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट छनोट भएको हो ।
समानुपातिकबाट प्रदेश नम्बर–१ मा ३७ जना, प्रदेश–२ मा ४३, प्रदेश–३ मा ४४, प्रदेश–४ मा २४, प्रदेश–५ मा ३५, प्रदेश–६ मा १६ र प्रदेश–७ मा २१ जना प्रदेशसभा सदस्य चयन हुनेछन् ।
प्रदेशसभा समानुपातिक सिट बाँडफाँट सकिएलगत्तै निर्वाचन आयोगले सिट प्राप्त गर्ने दलहरुलाई प्राप्त सिटअनुसार सांसद हुनेको नाम आयोगमा दिन ७ दिनको समय दिनेछ ।
७ दिनभित्र दलहरुले दिएको नाम ‘क्लस्टर’अनुसार नभए आयोगले ती दललाई फेरि ३ दिनको समय दिनेछ । थप तीन दिनको समयभित्र पनि दलहरुले दिएका नाम विधिसम्मत् नभए निर्वाचन आयोगले नै बन्दसूचीमा रहेका उम्मेदवारलाई विजयी घोषणा गर्नेछ ।
हुन त दलहरुले यसअघि नै समानुपातिकको बन्दसूची निर्वाचन आयोगका बुझाइसकेका छन् । आयोगले मंसिर ३ गते दलहरुले बुझाएको बन्दसूचीलाई अन्तिमरुप दिएर सार्वजनिक गरिसकेको छ ।
तर, दलहरुलाई क्लस्टर मिलाएर नाम सिफारिस गर्न सजिलो होस् भन्ने हेतुले बन्दसूचीबाटै नाम छनोट गर्न फेरि अवसर दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको अन्तिम नतिजाको प्रतिवेदन प्रदेशप्रमुखलाई बुझाउनुपर्नेछ । तर, अहिलेसम्म सरकारले प्रदेशप्रमुख नियुक्त गरेको छैन ।
सिट बाँटफाँटपछिका प्रक्रियासम्पन्न गर्ने समयसम्म सरकारले प्रदेशप्रमुख नियुक्त गर्ने निर्वाचन आयोगको विश्वास छ ।
प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीको सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाटमात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सदर मतको १.५ प्रतिशतभन्दा कम मत ल्याएकाको गणना गरिएको छैन ।
कुल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा प्रदेशतर्फ ९० लाख १९ हजार ३३० मतमात्र सदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्