तराईका ८ ओटा जिल्ला समेटिएर बनेको २ नम्बर प्रदेशको आर्थिक सम्भावना र चुनौती कस्ता छन् त ?
९ हजार ६६१ वर्गकिलोमिटरमा फैलिएको प्रदेश–२ मा ५४ लाख जनसंख्या छ । मैथिलीभाषीको बाहुल्य रहेको यस प्रदेशमा भोजपुरी, थारु, अवधिसहित बाहुन क्षत्री, जनजाति, मुस्लिमसहितको धेरै भाषा–भाषी छन् ।
प्रदेश–२ को प्रमुख आम्दानीको स्रोत कृषि, पर्यटन र उद्योग हुन् । अन्नको भन्डार रहेपनि कृषिको आधुनिकीकरण हुन सकेको छैन । जलविद्युत् आयोजनाको सम्भाव्यता नभएको प्रदेश–२ मात्र हो ।
प्रदेश–२ हिमालविहीन प्रदेश पनि हो । प्राकृतिक साधनकारूपमा २ नम्बर प्रदेशमा अलि सम्भाव्यता देखिएको क्षेत्र वन हो । मुलुकको कृषि तथा पशु क्षेत्रको उत्पादनमा २ नम्बर प्रदेशको योगदान १३ प्रतिशत छ ।
मानव विकास सूचकका आधारमा २ नम्बर प्रदेश राष्ट्रिय औसतभन्दा निकै तल छन् । यस प्रदेशमा रहेका जनताको प्रतिव्यक्ति आम्दानी ९६७ डलर छ । अरु प्रदेशको तुलनामा न्यून नै हो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, आम्दानीलगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ । शिशु मृत्युदर सबभन्दा धेरै छ भने जन्मदर सबैभन्दा बढी भएको प्रदेश हो । साक्षरता प्रतिशत पनि राष्ट्रिय औसतभन्दा कम छ ।
२ नम्बर प्रदेश सामाजिक—आर्थिक पूर्वाधार विकासमा साह्रै कमजोर छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार प्रदेश–२ मा गरिबी दर उच्च छ । यस प्रदेशमा ४७.९ प्रतिशत गरिबी रहेको प्रतिवेदन छ ।
अर्थशास्त्रका प्राध्यापक केदार बिसुरालकाअनुसार गरिबी, बेरोजगारी र अशिक्षा यस प्रदेशका प्रमुख चुनौती हुन् ।
प्राकृतिक स्रोत–साधनमा कमी भएपनि आफ्नै खुट्टामा उभिनसक्ने प्रदेशकोरुपमा रहेको भने देखिन्छ । वीरगन्ज र जनकपुरजस्ता आर्थिक–साँस्कृतिक महत्वका केन्द्र यही प्रदेशमा छन् ।
नेपालको एकमात्र सुक्खा बन्दरगाह रहेको प्रदेश–२ भारतसित रेलमार्गले पनि जोडिएको छ । नेपालको एकमात्र रेलसेवा जनकपुर–जयनगर यही प्रदेशमा छ । यद्यपि, हाल यो बन्द अवस्थामा छ ।
यो प्रदेश ४ ओटा विमानस्थलले जोडिएको छ । राजधानी जोड्ने मुलुककै छोटो काठमाडौं–निजगढ द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जसले २ नम्बर प्रदेशको आर्थिक विकासमा ठूलो महत्व राख्दछ ।
पर्यटनको आधार पनि बलियो छ । धार्मिक पर्यटनकोरुपमा पनि यो प्रदेश बलियो देखिन्छ । गढीमाई, जनकपुर, जानकी मन्दिरजस्ता प्रसिद्ध धार्मिकस्थल छन् ।
मुलुककै आर्थिक केन्द्र पथलैया–वीरगन्ज औद्योगिक करिडोर, जहाँ हजारभन्दा बढी उद्योग सन्चालनमा छन् । मुलुककै आर्थिक केन्द्र वीरगन्ज भन्सार यहीँ छ भने देशकै सबैभन्दा ठूलो चारकोशे झाडी वन पनि यही प्रदेशमा छ ।
भौगोलिक सहजताले उद्योग, कलकारखानाका लागि उपयुक्त प्रदेश रहेको र खेतीयोग्य जमिनको भरपूर उपयोग गर्नुपर्ने बताउँछन्, प्राध्यापक बिसुराल ।
काठमाडौं–निजगढ द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्गलगायतले २ नम्बर प्रदेशलाई सवल एवं सक्षम प्रदेशकारुपमा स्थापित गराउनसक्ने देखिन्छ ।
२ नम्बर प्रदेशको विकासका लागि शिक्षामा धेरै लगानी गर्नुपर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्