काठमाडौं, पुस ३ । मेलम्ची खानेपानी आयोजना नेपालको विकासे योजनाको भद्दा उदाहरण हो । २०४६ सालको परिवर्तनपछि २०४८ सालको निर्वाचनमा यो चुनावी नारा बनेको थियो ।
तत्कालीन प्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने नारा दिएका थिए ।
त्यसपछि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आएको मेलम्चीले अहिलेसम्म पानी होइन, धुलोमात्र खुवाएको छ ।
काठमाडौंको खानेपानी अभाव पूरा गर्न २०४१ सालमै अध्ययन सुरु भएको थियो ।
तर, मेलम्चीको पानी काठमाडौं आउने सपना तुहाउने काम भने धेरैपटक भइसकेको छ ।
कहिले दातृनिकायले हात झिक्छन् । कहिले ठेकेदार भाग्छन् । कहिले स्थानीयले आन्दोलन गर्छन् त कहिले राजनीतिक स्वार्थ जोडिएर पनि अलमल हुने गरेको छ ।
सरकारले २०५२ सालबाट औपचारिकरुपमा मेलम्चीमा काम गर्न थालेको हो ।
२०५७ सालमा एसियाली विकास बैंक (एडीबी)सँग आयोजना निर्माणको ऋण सम्झौता भयो । तर, काम नै सुरु भएन ।
यसबीचमा मेलम्ची आयोजनाले धेरै हन्डर खायो । खानेपानी संस्थानले पानी व्यवस्थापन गर्न नसक्ने भन्दै विदेशी कम्पनी ल्याउनुपर्ने विवाद सुरु भयो ।
२०६५ सालमा चिनियाँ कम्पनी सीआरसीसीले ठेक्का पायो । यसले निकै सुस्तगतिमा काम गरेको भन्दै सरकारले एकतर्फीरुपमा सम्झौता तोड्यो ।
यसपछि २०७० सालमा अहिलेको इटालीयन कम्पनी सीएमसी आयो । यसले २०७३ सालमा काम सक्नुपर्ने थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका बहाना बनाउँदै यसले पनि समय थप्दै लग्यो ।
२०७४ सालमा भएको निर्वाचनमा वर्तमान सत्तारुढ दल नेकपाको पनि चुनावी नारा थियो, मेलम्चीको पानी ।
तर, यथार्थ अध्ययनभन्दा मेलम्ची आयोजना र ठेकेदार कम्पनी सीएमसीका कुरा पत्याउँदै मन्त्रालय पानी काठमाडौं आइपुग्ने म्याद तोक्दै गयो ।
आज आउँछ, भोलि आउँछ भनिएको पानी काठमाडौंका सडक सबै भत्काएर धुलाम्मे पार्दै पाइप ओछ्याउन थालेपछि जनताले पत्याए पनि ।
वर्तमान सरकार गठन भएपछि गत दसैंसम्ममा पानी आउने भनिएको थियो । तर, त्यो म्याद पनि टरेर अहिले पुस लागेपछि इटालीयन कम्पनी सीएमसीले ठेक्का तोडेको घोषणासहितको पत्र सरकारलाई बुझाउन खोजेको छ ।
त्यो पत्र सरकारले बुझ्न नमानेपछि उनीहरु सुटुक्क भाग्न खोजेको भन्दै सरकारले पक्राउ गरेर अहिले वार्ता गरिरहेको छ ।
सरकार सीएमसीलाई काम सक्न आग्रह गरिरहेको छ भने सीएमसीले क्षतिपूर्ति रकम पहिला पाउनुपर्ने शर्त राखिरहेको छ ।
बजारमा भने दुईओटा विषय बाहिर आएका छन् । एक, सीएमसी टाट पल्टिएकाले ऊ यहाँबाट भाग्न खोजिरहेको छ । अर्को, नेपाल सरकारले सम्झौताबमोजिमका शर्त नमानेकाले सीएमसीले सम्झौता तोड्न लागेको हो ।
ठेक्का पाउन लागेको कम्पनी टाट पल्टिन लागेको पनि थाहा नपाउने र उसले राखेका शर्तहरु समय छँदै सल्टाउन नसक्दा मेलम्चीको पानी आफ्नै पालामा काठमाडौं ल्याएर जस लिन खोजेको सरकारसमक्ष जनताका अगाडि के भन्ने भनेर अप्ठ्यारो पर्ने देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्