काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठकमा पनि नेतृत्वको कडा आलोचना भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलकाक्रममा स्थायी कमिटीका सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् ।
सरकार र पार्टी सन्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सन्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन् ।
मंगलबार बोल्ने ८ जना स्थायी कमिटी सदस्यहरुमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए ।
बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए ।
नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदन्डअनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेकाले त्यसलाई रोकिनुपर्ने बताए ।
मंगलबारको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राखेका थिए ।
शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सोमबार भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भुसालले नेतृत्वको चर्को आलोचना गरेका थिए ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको लामो समय भइसक्दासमेत तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन ।
त्यसैगरी, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट नगरिएको भन्दै आलोचनासमेत हुँदै आएको छ ।
अर्को बैठक बुधबार (भोलि) बिहान ८ बजे फेरि बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्