दीपायलमा विगत १२ वर्षदेखि केबी स्टिल तथा फर्निचर उद्योग, केबी इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गरेका हुन् ।
साउदले मंगलबार नगरपालिकाका वडासँगको सहकार्यमा आफ्नै व्यक्तिगत लगानीमा हरेक वडामा कार्यक्रम आयोजना गरी नौवटै वडाका ३० जना गरी २७० जना वृद्ध, अपांग, एकल महिला गरिब तथा असहायलाई न्यानो लुगा वितरण गरेका हुन् ।
केबी ग्रुपले वितरण गरेको न्यानो लुगा पाएपछि यहाँका स्थानीय बासिन्दा र वृद्ध उनप्रति निकै खुशी हुनुका साथै धन्यवादसमेत दिएका थिए । त्यस्तै, आफ्नै वडा कार्यालयमा आएर केबीले न्यानो लुगा वितरण गरेकोप्रति दीपायल सिलगढी नगरपालिका वडाध्यक्षलगायत स्थानीयले केबी इलेक्ट्रोनिक तथा केबी स्टील फर्निचर उद्योगले निकै सराहनीय काम गरेको भन्दै फूलमाला र खादा पहिराएर उनलाई स्वागत गरेका थिए ।
केबी ग्रुपका प्रोपाइटर खगेन्द्रबहादुर साउद (केबी) विगतदेखि नै निःस्वार्थ रुपले समाज सेवामा लगेका अभियन्ता हुन् भन्दै दिसिनपा–२ का वडा अध्यक्ष राजेन्द्र खड्काले उनको गुन जनतालगायत आफूले तिर्न र सेवाअनुसारको मेवा दिन कहिलेपछि नहट्ने बताए ।
त्यस्तै, दिसिनपा–४ का वडा अध्यक्ष वीरेन्द्र शाहले नगरपालिकाभित्र अझै पनि वर्षको एकजोर न्यानो लुगा खरिद गर्न नसक्ने समुदाय रहेकाले उनको सहयोग भगवानले दिएकोे वरदानजस्तै रहेको बताए ।
वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी दिसिनपा–१ गोसेडाकी ८५ वर्षीया वृद्धा सरु साउदले आफूले मर्ने बेलामा छोरा पाएसरह भएको बताइन् । एक छोरीकी आमा सरु साउद छोरीको बिहेपछि विगत दश वर्षयता एकलरुपमा बस्दै आएकी छन् । उनले भनिन्, ‘भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज भगवानले तातो लुगा लिएर आउनुभयो । उहाँको कल्याण होस् ।’
त्यस्तै, दिसिनपा–२ कि ९५ वर्षीया नरु कठायतले न्यानो कपडा दिएबापत उनलाई आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उनलाई दिन केही नभएको बताइन् । साथै, उनले जसलाई भोट दिएँ उनीहरुले दर्शन पनि नदिएको तर उनले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् ।
डोटी जिल्लाका स्थानीय बासिन्दासमेत रहेका साउदले विगत पाँच वर्षयता आफ्नै व्यक्तिगत लगानीमा प्रत्येक वर्ष रु पाँच लाखका दरले न्यानो लुगा वितरण गर्दै आएको बताए ।
उनले भने, ‘जाडोले कतिपय असहाय तथा वृद्ध आमा बुबालाई समस्या हुँदै आएको थियो । हामीले जाडोमा उहाँहरुलाई अलिकति भएपनि न्यानो होस् भन्ने उद्देश्यले केही लुगा वितरण गरेका छौँ । त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म मेरो कमाइको केही अंंशले सेवा गर्न चाहन्छु ।’
उनले थपे, ‘आफ्नो कमाइको केही अंशले जाडोमा न्यानो लुगासँग विपन्न वर्गको माया साट्दा असाध्यै आनन्द हुन्छ ।’ (रासस)










प्रतिक्रिया दिनुहोस्