Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपा स्थायी कमिटी बैठक: सरकार र पार्टी नेतृत्वको आलोचना


0
Shares

प्रकाश सिलवाल (रासस)

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा सोमबार बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृतरुपमा तीव्रगतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् ।

सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सन्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् ।

पार्टी विधानानुसार कम्तीमा तीन महिनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इन्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीति निर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आमअनुभूति दिलाउन नसकिएको गुनासो गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

वक्ताले तल्लो तहको एकता चाँडो गरिनुपर्ने, एसिया प्रशान्त शिखर सम्मेलनजस्ता विवादित कार्यक्रममा सरकार र पार्टी नेतृत्व मुछिने, जोडिने अवस्था अन्त्य हुनुपर्ने विचार पनि बैठकमा राखे ।

अध्यक्षको प्रतिवेदनमा पूरक प्रतिवेदन प्रस्तुत् गरेका नेता वामदेव गौतमले पार्टी र सरकारलाई प्रभावकारीरुपमा सन्चालन गर्न अध्यक्षहरुको कार्यभार विभाजन हुनुपर्ने र जनताको चाहनानुसार विकास निर्माणका कामले गति लिनुपर्नेमा जोड दिए ।

उनले नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्रबमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत् हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै पार्टी र सरकारको नेतृत्व लिएका नेताहरुले निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्न कदम चाल्नुपर्ने बताए ।

उनले पूरक प्रतिवेदनमा भनेका छन्–‘तीव्रगतिमा पार्टीको पुनःगठन गर्दै सरकारलाई जनताको अपेक्षाअनुरुपका लोकप्रिय कार्यक्रम घोषणा गर्नेतर्फ पार्टीका प्रमुख नेताहरु लाग्नुहुन्छ कि भन्ने अहिलेसम्मको स्थितिलाई हेर्दा आशा गर्नसकिने अवस्था देखिएन । यस्तो अवस्थामा देशको आवश्यकता तथा नेपाली जनताका आशा–अपेक्षा पूरा गर्नेतर्फ पार्टी र सरकारलाई अघि बढाउन नेपालको कम्युनिस्ट आन्दोलनमा जीवन समर्पित गरेका र त्यसका निम्ति क्रियाशील नेपाल कम्युनिस्ट पार्टीका जिम्मेवार नेताबाट गम्भीर चिन्ताका साथ सम्पूर्ण नेता र सिंगो पार्टीले ध्यान दिनुपर्छ ।’

सोमबारको बैठकमा नेता गौतम, अग्निप्रसाद सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम र शक्तिबहादुर बस्नेतले आ–आफ्नो विचार व्यक्त गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो पार्टीको स्थायी कमिटी बैठक पाँच महिनापछि बसेको हो ।

गत शनिबार सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसंगठनको एकतालगायत विषय समावेश छन् ।

वक्तालाई २० मिनेट

सोमबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनको महत्वकाबारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेका थिए ।

बैठकले प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय तय गरेको छ ।

गत जेठ ३ मा भएको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिल्ला र जनसंगठनको एकता अझै टुंगिएको छैन । प्रदेश कमिटीले भने पूर्णता पाइसकेको छ ।

बैठक मंगलबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पुनः बस्नेछ ।