
विवेक भण्डारी
नवलपुर, पुस २ । खोला तथा नदी किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अन्य पेशामा पनि संलग्न हुन थालेका छन् । सामाजिक चेतना र समयको आवश्यकताअनुसार बोटे समुदाय परम्परागत व्यवसायका अलावा अन्य पेशामा पनि लाग्न थालेका हुन् ।
नवलपुर कावासोतीका ज्ञानबहादुर बोटे त्यसको एक उदाहरण हुन् । समुदायकै स्तरोन्नति गर्ने उद्देश्यका साथ ४१ वर्षीय उनले विगत २ वर्षदेखि बोटे गाउँ रिसोर्ट एजेन्सी सञ्चालन गरिरहेका छन् ।
पढाइमा स्तातकोत्तर उत्तीर्ण गरेका उनले नदीखोलामै केन्द्रित आफ्नो समुदायमा सचेतना प्रवाह गर्र्दै आएका छन् । रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आफ्नो रहनसहन, संस्कृति पस्किने गरेको उनको भनाइ छ ।
५२ लाखको लगानीमा सञ्चालन गरिएको रिसोर्टमा यस समुदायका १० जनाले रोजगारी पाएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको अवलोकनका साथै थारु तथा बोटे समुदायको संस्कृति बुझ्न आउने पर्यटक उनीहरुका पाहुना हुन् । धेरै कुरामा पिछडिएका बोटे समुदाय अहिले सामाजिक, आर्थिक र व्यक्तिगत विकास सक्रिय बन्न थालेको नेपाल बोटे समाजका महासचिव दिपक बोटेको भनाइ छ ।
नवलपुरमा करिब तीन हजारको संख्यामा रहेका बोटे समुदाय विस्तारै चेतनशील बन्ने प्रयासमा छन् । आफ्नो संस्कृति र पहिचानलाई कायम राखेर समयअनुकूल परिवर्तन हुनु सबै समुदायको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्