Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’


0
Shares

काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् ।

कम्पनीको स्वामित्व विवादका कारण कसैले पनि कामदारको जिम्मा नलिएपछि उनीहरू अलपत्र परेका हुन् ।

उद्धारको प्रतीक्षामा रहेका कामदारलाई नेपाली समुदायले पैसा उठाएर खाना खुवाइरहेका छन् ।

सुलेभियामा १ सय ५ र सोइवामा २ सय कामदार अलपत्र छन् । पीडितलाई कम्पनीले खाना, टिकट दिएर स्वदेश पठाइदिन्छ भन्ने झिनो आस पनि छैन ।

हाम्रो जीवन नेपाली दाजुभाइले नै जोगाइराख्नुभएको छ । उहाँहरूले कति दिनसम्म धान्न सक्नुहुन्छ थाहा छैन,’ पीडित अम्बरबहादुर बस्नेत भन्छन्, ‘यहाँबाट छिट्टै स्वदेश फिर्न पाए हुन्थ्यो भन्ने कामना गरिरहेको छु ।’

उद्धारमा ढिलाइ

कामदारको अवस्था जोखिमपूर्ण देखेपछि कुवेतस्थित नेपाली दूतावासले एक महिनाअघि नै परराष्ट्र र श्रम मन्त्रालयलाई तुरुन्त उद्धार आवश्यक भएको भन्दै बजेट उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

श्रम मन्त्रालय भने अहिलेसम्म अलपत्र कामदार कानुनी रूपमा त्यहाँ गएका हुन् वा गैरकानुनी भन्ने खोजी गरेरै बसिरहेको छ ।

श्रम प्रवक्ता भुवन आचार्य दुई वर्ष करारपत्र बाँकी रहेका कामदारको जिम्मेवारी पठाउने म्यानपावर व्यवसायीलाई दिइएको बताउँछन् ।

पुनः श्रम स्वीकृति लिई गएका कामदारको खर्च वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बेहोर्ने उनी बताउँछन् ।

अलपत्र कामदारमध्ये धेरैजसोको दुई वर्षको श्रम स्वीकृति समाप्त भइसकेको छ । –कान्तिपुर दैनिकबाट