काठमाडौं, पुस १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भए पनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे ।
‘पूर्वमाओवादीका तर्फबाट केही साथीहरु खान पाईन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो,’ उनले भने, ‘प्रचण्ड धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले नेता बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा आउनुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं ।’
प्रचण्डभन्दा बादल राष्ट्रवादी नेता भएको उल्लेख गर्दै उनले आफूहरुले बादललाई महान जनविद्रोहमा आउन आग्रह गरिसकेको जनाए । उनले थपे, ‘अझै पनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन ।’
‘राष्ट्रपति विलासी’
राष्ट्रपति विद्यादेवी भण्डारीको विलासिताको बारेमा बाहिरिएका समाचारहरुप्रति आफूहरु पनि जानकार रहेको र राष्ट्रपतिले खोजेको विलासिता जनताको हितविपरित भएको उनले दाबी गरे ।
उनले भने, ‘राष्ट्रपति देश र जनताको हितविपरित जानुहुँदैन, जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? यस्तो पनि हुन्छ, हिजोआज त डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय गरिएको समाचार आएका छन्, यो त झनै सुहाउँदो काम भएन ।’
आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने पनि अध्यक्ष किराँतीले जानकारी दिए । उनले भने, ‘पुस र माघभित्रमा आठौं महाधिवेशनको बारेमा सम्पूर्ण तयारी पुरा गरिनेछ, गत मंसिर २८ र २९ गते राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु हामीले सार्वजनिक गरेका छौं, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन ।’ समाजवादको ‘स’ सम्मपनि कार्यान्वयन गर्न वर्तमान सरकारले नसक्ने उनको दाबी थियो ।
प्रधानमन्त्रीविरुद्ध पनि खनिए किराँती
केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने, ‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मिक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’
विदेशीहरुले नेपालका धार्मिक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे, ‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, पूर्वएमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ ।’
‘विप्लव र वैद्य माओवादीसँग पार्टी एकता हुन्छ’
अध्यक्ष किराँतीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेशन पछि पार्टी एकता गरिने स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो पार्टीको लाईन, विप्लवजीको पार्टीको लाईन र वैद्य कमरेडको पार्टीको लाईन करिब एउटै हो, केही कुरा विप्लवजीसँग मिलेका छैनन्, वैद्यले वैज्ञानिक समाजवाद भन्नुहुन्छ, विप्लवले पनि वैज्ञानिक समाजवाद भन्नुहुन्छ, वैद्यले जनक्रान्ति भन्नुहुन्छ, विप्लवले एकिकृत जनक्रान्ति भन्नुहुन्छ, हामीले महान जनविद्रोह भन्छौं, जसले जे भनेपनि सारमा सबैको लक्ष्य एउटै भएका कारण हामी तीनै पक्षबीच पार्टी एकीकरण हुन्छ, एकिकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन, वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’
त्यस्तै कार्यक्रममा महासचिव कर्णजित बुढाथोकीले असली कम्युनिष्टहरुलाई अब ढिला नगरी एक ठाउँमा आउन आग्रह गरेका छन् ।
उनले भने, ‘राष्ट्र र जनता अहिले अप्ठ्यारोमा परेका छन्, यो बेला पनि हामी असली कम्युनिष्टहरु एक ठाउँमा उभिन सकेनौं भने जनताले हामीलाई पत्याउँदैनन्, जनताहरु महँगीको मारमा छन्, राष्ट्रियता जोखिममा छ, सिमानामा अत्याचार भएकै छ, यस्तो स्थितिमा सरकारले कुनै काम गर्न सकेको छैन, हामीले सडकबाट उचित जवाफ दिन सकेका छैनौं, अघोषित धार्मिक द्वन्द्व बढाउन खोजिएको छ ।’









प्रतिक्रिया दिनुहोस्