२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन यस्तो आयो नयाँ समय तालिका


0
Shares

सडक निर्माणलाई तिब्रता दिन आज राति १० बजेदेखि भोलि विहान ४ बजेसम्म सडकमा गाडी चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

काठमाडौबाट छुट्ने बसहरु राती १० बजेभित्र मुग्लिन बजार पार गरिसक्न र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौ पोखरा जाने बसहरु विहान ३ बजे रामनगर पार गरिसक्न प्रहरीले भनेको छ ।

काठमाडौबाट नारायणगढतर्फ जाने मालबाहक सवारी भने राति ९ बजे नै लेवाटर पार गरिसक्नुपर्ने र त्यसपछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा विहान ४ बजे सम्म बस्नुपर्ने हुन्छ ।

त्यस्तै पूर्व वा पश्चिमबाट मुग्लिन तर्फ जाने मालबाहक सवारीहरु राती ९ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्नुपर्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा विहान ४ बजेसम्म बस्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले रामनगर-भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ ।

पहाड काट्न काम बाँकी भएका १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक प्रकाशकोसमेत व्यवस्था मिलाइएको छ ।

१६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । अरु स्थानमा भने पिच निर्माणलाई तिव्रता दिईएको छ ।

३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक निर्माणको काम हालसम्म ६७ प्रतिशत मात्रै सकिएको छ । ठेकेदारले समयमै काम नगर्दा सरकारले जरिवाना तिराएर म्याद थप्दै आईरहेको छ ।