
धार्मिक पौराणिक महत्वको रुपमा रहेको पर्यटकीय स्थल बर्जुताल संरक्षणमा केही वर्षयता स्थानीयवासीले चासो देखाउन थालेसँगै तालको मुहार नै फेरिन थालेको छ ।
सुनसरीको बर्जु गॉउपालिका–६ मा रहेको बर्जु तालको संरक्षणमा स्थानीयवासी जुटेसँगै बर्जुताल पुर्वकै पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको हो ।
बर्जु ताल प्रदेश नम्वर एकको सवैभन्दा ठुलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक जानेदेखि अध्ययन अनुसन्धानका लागि समेत सर्वसाधारण पुग्ने गरेका छन ।
सरकारी उदासिनताले लामो समयदेखी ओझेलमा पर्दै आएको बर्जुताल संरक्षणमा स्थानीयवासीले चासो दिएसँगै विकासका कामहरु समेत संचालन हुन थालेका छन् ।
१ सय ५१ विगाह बढी क्षेत्रफलमा फैलिएको तालको १ सय विघा क्षेत्रमा जलाशय रहेको छ । ३ करोड ६३ लाख वजेटमा नेपाली सेनाले ताल सफाई गर्ने, तालका चारै तर्फ वॉध निर्माण घेरावेरा लगायतको काम सम्पन्न गरेको थियो ।
सेनाले मूख्य ताल रहेको क्षेत्रकोबीचमा शिव मन्दिर समेत निर्माण गरिदिएको छ । जसले गर्दा अझ तालको आर्कषण यसले वढाई दिएको छ ।
बर्जु ताल हेर्नका लागि पुगेका पर्यटकले ताल रमणीय रहेको भन्दै सवैलाई एक पटक पुग्न आग्रह गर्दै आएका छन ।
विभिन्न समयमा ताल संरक्षण र संरचना निर्माणका निम्ति हालसम्म प्रधानमन्त्री विकास कोषवाट ३५ लाख, जिल्ला विकास समिति सुनसरीवाट ४ लाख, पर्यटन मन्त्रालयवाट २५ लाख, संसाद विकास कोषवाट विजयकुमार गच्छदारले १५ लाख र रामकुमार सुव्वाबाट ३ लाख रकम आएको छ ।
पाँच पाण्डव बनबासमा रहेको बेला यस तालमा पुगेको भन्ने विश्वास समेत रही आएको छ । बर्जुताल केही वर्ष अगाडी संरक्षण अभावमा उजाड र घाँसे मैदानको रुपमा थियो ।
बर्जुताल सिमसार विकास संरक्षण समितिका अध्यक्ष बालिम चौधरीका अनुसार ताल हेर्न आउने र यहाँको दृष्यसंग रमाउने आन्तरिक तथा बाह्य पर्यटकको सधै भीड लाग्ने गरेको छ ।
दैनिक सयभन्दा बढी पर्यटक आउने गरेका छन् । आन्तरिक बाहेक विदेशी पर्यटक समेत तालको अध्ययनका लागि आउने गरेका छन् ।
तालमा गर्न सकिने नौका विहार र चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण वन्ने गरेको छ । नौका विहारका लागि १५ वटा बोटहरु सञ्चालनमा छन् ।
यो ताल क्षेत्रमा बिभिन्न जनावरले समेत आफ्नो वासस्थान बनाएको हुँदा यहाँ पुग्ने पर्यटकले बिभिन्न प्रजातिका जनावरको समेत अवलोकन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्