२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहाँ अल्मलियो ?


0
Shares

एकता प्रक्रियाअघि बढाउन बनेको दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका छन् ।

गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरेर चुनावलगत्तै पार्टी एकताकोसमेत घोषणा गर्दा सार्वजनिक गरिएको ६ बुँदे प्रतिबद्धतापत्रको पहिलो बुँदामै पार्टी एकता र संगठनात्मक एकताको विस्तृत् खाका र विस्तृत् कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने उल्लेख गरिएको थियो ।

तर, घोषणा गरेको तीन महिना बितिसक्दा पनि पार्टी एकीकरण संयोजन समितिको बैठक बस्न नसक्दा संयोजन समितिमा रहेका दुवै दलका नेता नै अन्योलमा परेका छन् ।

समितिको बैठक झन्डै तीन महिनासम्म नबोलाइँदा पार्टी एकता हुनेमा शंका बढेपछि पुस १२ गते दुई दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको एक्ला–एक्लै वार्तामा एक/दुई दिनमै संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो । तर, एक हप्ता बित्दा पनि अझै बैठक बस्ने टुंगो छैन ।

पछिल्लो समय एकीकरण प्रक्रियामा शक्ति बाँडफाँटको विषय पेचिलो बनेको छ । माओवादी केन्द्र पार्टी एकतापछिको नेतृत्व आफूहरुले पाउनुपर्ने पक्षमा छ ।

तर, एमालेको संस्थापन पक्ष भने दुवै कार्यकारी पद आफूसँगै राख्न चाहन्छ । यस्तै, एमाले पहिले सरकार गठन र त्यसपछिमात्रै पार्टी एकीकरण गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र चुनावअघिदेखि नै एकीकरणको कुरा चलिसकेकाले दुवै कामसँगै हुनुपर्ने पक्षमा छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल पार्टी एकीकरण प्रक्रियाले अपेक्षित गति लिन नसकेपनि आश्चर्यजनकरुपले पार्टी एकता हुने दाबी गर्छिन् ।

यता, एमालेका नेता प्रदीप ज्ञवाली पनि पार्टी एकतामा कुनै शंका नभएको जिकिर गर्छन् ।

दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै शंका निवारण गर्ने प्रयास गरिरहेपनि दोस्रो र तेस्रो तहका नेताहरुले भने बेला–बेला विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ।

नेताहरुका अभिव्यक्तिले पनि पार्टी एकीकरण जटिल बनिरहेको हो कि भन्ने भान परेको छ ।

तर, पार्टी एकीकरण गर्ने भन्दै चुनावी तालमेल गरेर जनतासँग मत मागेका दुवै दललाई एकता प्रक्रियाबाट पछि हट्न पनि उत्तिकै कठिन र जटिल छ ।

त्यसो त दुवै दलका शीर्ष नेताले दुई पार्टीबीच एकता हुन नदिन विभिन्न चलखेल भइरहेको दाबी गर्दै आएका छन् ।

तर, बाह्य चलखेलले नभइ पार्टीभित्रकै शक्ति बाँडफाँटले एकता प्रक्रियामा ढिलाइ भइरहेको नेताहरुले सार्वजनिकरुपमा दिने अभिव्यक्तिले नै प्रष्ट हुन्छ ।