१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक बढे


0
Shares

स्थलमार्ग हुँदै रुपन्देहीको बेलहिया नाकाबाटमात्रै १ लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । बेलहिया स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटकहरु नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका हो ।

अध्यागमन कार्यालय बेलहियाकाअनुसार सन् २०१७ मा यो नाका हुँदै १ लाख ५० हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यो तथ्यांक भारतीय पर्यटकबाहेकको रहेको सूचना अधिकृत गिरीराज खनालले बताए ।

सन् २०१६ मा यो नाका हुँदै १ लाख ४७ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यो नाका हुँदै श्रीलंका, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, भियतनाम, चीन तथा युरोपियनलगायतका देशहरुबाट पर्यटक नेपाल आउने गर्छन् ।

यो नाकाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य लुम्बिनी, कपिलवस्तु र रामग्राम तथा नेपालका हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ तथा काठमाडौं, चितवन, पोखरा हुने सूचना अधिकृत खनालले बताए ।

अध्यागमन कार्यालयकाअनुसार २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर वृद्धि भइरहेको छ ।

सन् २०१४ मा १ लाख १७ हजार २६३ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका थिए । सन् २०१५ मा १ लाख २० हजार ६३७ पर्यटक यो नाका हुँदै नेपाल भ्रमणमा आएका थिए ।