Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेस, वामदेवको पूरक प्रतिवेदन


0
Shares

काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

८ ओटा उपखन्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सन्चालनका ९ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने–‘पार्टीको सांगठनिक एकीकरणको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने कामकाबारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, सरकार सन्चालनको ९ महिनाका अवधिमा सरकारले गरेका काम–कारबाहीकाबारेमा समीक्षा र अब सरकारले गर्नुपर्ने कार्यदिशाकारुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।’

प्रतिवेदनमा राष्ट्रिय राजनीतिकाबारेमा व्याख्या गरिएको छ ।

त्यस्तै, राजनीतिक दलको भूमिकाकाबारेमासमेत अध्यक्षले पेस गरेको प्रतिवेदनमा चर्चा गरिएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय सचिवालयले यसअघि गरेको निर्णयको अनुमोदनका लागि प्रस्ताव गरिएको जानकारी दिए ।

उनले भने–‘पार्टी आन्तरिक जीवनकाबारेमा पनि प्रतिवेदनमा एउटै छुट्टै अंश तयार पारिएको छ ।’

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यकाबारेमा धारणा राखेका थिए ।

त्यस्तै, अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पारेका थिए ।

अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसर प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभूतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मकरुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभारा पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्नेमा जोड दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै, बैठकले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङडाँडामा भएको मिनिट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।

बैठकले केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ती घटनाका मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ ।

यसअघि, असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

वामदेवको पूरक प्रतिवेदन

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनको पूरककारुपमा छुट्टै प्रतिवेदन पेस गरेका छन् ।

अध्यक्षद्वयले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पुर्‍याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेस गरेको प्रवक्ता श्रेष्ठले बताए ।

अध्यक्ष र नेता गौतमले पेस गरेको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ । रासस