२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


व्यवसायीको गोली हानी हत्या, मनोज पुनले लिए जिम्मेवारी


0
Shares

देवदह–२, ढेकावारमा शुक्रबार बिहान ११ बजेतिर फर्निचर व्यवसाय गर्दै आएका ‘बलु’ भनिने बसन्त पौडेलमाथि गोली हानिएको हो ।

आफ्नै फर्निचरमा आगो तापिरहेको बेला उनीमाथि गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

मोटरसाइकलमा आएका दुईजनाले उनको टाउको र छातीमा गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ । पौडेल एमाले नेता तथा पूर्वकरहिया गाविसका अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुन् ।

पौडेल गत वर्ष हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका साथी हुन् ।

पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी घटनाको जिम्मा लिएका छन् । उनले बुटवलका सन्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छले पौडेललाई गोली हानेको बताएका हुन् ।

पुनमाथि गत वर्षको पुस ४ गते देवदह, खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

हत्याको विरोधमा युवा–विद्याथीहरुले बुटबलमा बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।