
उत्तर कोरियाले ह्वासङ–१२ नामक मध्यम दूरीको परमाणु क्षेप्यास्त्र परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली टोकचोन सहरमै खसेको घटनाबारे ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा चर्चा गरिएको छ ।
‘बीबीसी‘ले आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुगेको उल्लेख गरेको छ ।
उक्त घटनाबारे ‘दि डिप्लोम्याट’ पोर्टलका सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज’का अनुसन्धानकर्ता डेभ सिजमर्लरले विश्लेषण लेखेका हुन् । सो विश्लेषणमा जनाइएअनुसार गत एप्रिल २८ तारिखमा परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली सहरमै खसेको थियो ।
अमेरिकी सरकारी स्रोतहरूले अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान नसकेको जनाएका छन् ।
बीबीसीसँग कुरा गर्दै अंकित पाण्डाले भनेका छन्, ‘क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इन्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।’ उनले थपे, ‘क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ । यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ ।’
उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा के–कति नोक्सानी भयो भन्न नसकिने उनीहरुले बताएका छन् ।
एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो । लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ ।
संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्