२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हत्याको विरोधमा रुपन्देही बन्द, हत्यारा ‘पक्राउ नपर्दासम्म आन्दोलन’


0
Shares

युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्रन दबाब दिन भन्दै बन्द आह्वान गरेको हो । हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने युवा संघले जनाएको छ ।

रुपन्देहीको देवदह, खैरेनीका ४० वर्षीय वसन्त पौडेल ‘बलु’लाई देवदह–२ मा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए ।

गत वर्ष भएको दुर्गा तिवारीको हत्यारालाई पक्राउ नगरेकै कारण यो घटना भएको भन्दै आफन्तहरुले प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

गत वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको देवदहमै गोली हानी हत्या गरिएको थियो ।

बन्द आह्वानपछि बुटवल क्षेत्र सुनसान छ । शैक्षिक संस्था र कलकारखाना बन्द छन् । पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा यातायातका साधन चलेका छैनन् ।

बेलहिया नाका हुँदै नेपाल भित्रिनेहरु रिक्सा चढेर गन्तव्यमा जान बाध्य छन् । बुटवल बन्दले पश्चिम नेपालकै आवागमनमा अवरोध भएको छ ।

घटनास्थल देवदह क्षेत्रका बासिन्दा पनि विरोध उत्रिएका छन् ।

शुक्रबार हत्या गरिएका पौडेल एमाले नेता तथा पूर्वकरहिया गाविसका अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुन् ।

पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी घटनाको जिम्मा लिएका थिए । उनले बुटवलका सन्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छले पौडेललाई गोली हानेको बताएका हुन् ।

पुनमाथि गत वर्षको पुस ४ गते देवदह, खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।