२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार


0
Shares

‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो ।

गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा.चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार देशभरिमा १० प्रतिशत र प्रदेश नम्बर–२ मा १४.४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेका छन् । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने सहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषणको समस्या बढ्दो रहेको प्रमुख डा.दासको भनाइ छ ।

उनका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र ‘डब्ल्युएफपी’को आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाइन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सन्चालनमा ल्याइएको जनस्वास्थ्य प्रमुख डा.दासले बताए ।

गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका जिल्लाका बालबालिकाको पोषणमा परेका असरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको थियो ।

कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पोषणयुक्त पीठो बाँडिएको छ भने कतिपय स्थानमा बाँड्नेक्रम जारी रहेको बताउनुहुँदै प्रमुख डा.दासले आमालाई तयारी खाना वितरण गर्ने, बच्चाको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत जानकारी दिए ।

कार्यक्रमअन्तर्गत जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुपोषण व्यवस्थापन र उपचारका विषयमा तालीम दिइएको छ । रासस