१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


उदयपुर सिमेन्ट उद्योगबाट पूर्णक्षमतामा सिमेन्ट उत्पादन


0
Shares

गाईघाट, मंसिर २८ । पूर्णसरकारी स्वामित्वमा सन्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलोपटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य सुरु गरेको छ ।

प्रतिदिन ८०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्णक्षमतामा ८०० मेट्रिकटन (प्रतिदिन झन्डै चालिस हजार बोरा) सिमेन्ट उत्पादन कार्य सुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको छ ।

उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापनाकालदेखि प्रतिदिन ५५० देखि ६०० मेट्रिकटनसम्ममात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

लोडसेडिङ तथा प्राविधिक समस्याका कारण सोचेजस्तो सिमेन्ट उत्पादन हुन नसके पनि गत वर्षदेखि केही समस्या समाधान गरेर उद्योगले ७०० मेट्रिकटनसम्म सिमेन्ट उत्पादन सुरु गरेको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताए ।

विस्तारै उद्योगमा विद्युत्देखि प्राविधिक कुरामा सुधार हुँदै गएपछि केही दिनअघिसम्म उद्योगले ७६० मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता बनाएको थियो ।

एक हप्तायता उद्योगमा पूर्णक्षमतामा ८०० मेट्रिकटन सिमेन्ट उत्पादन कार्य सुरु भएको महाप्रबन्धक पौडेलले बताए ।

दुई वर्षअघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षदेखि वार्षिक रु ३५ करोड आर्थिक आम्दानी गर्न थालेको पनि उद्योग प्रशासनले बताएको छ ।

अब निरन्तर पूर्णक्षमतामा सिमेन्ट उत्पादन हुने हो भने उद्योगले वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्ने पनि महाप्रबन्धक पौडेलले जानकारी दिए । रासस