
विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।
गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
यसैगरी आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटक सन् २०१६ मा एकलाख ३४ हजार दुई सय ६९ जनामात्र लुम्बिनी अवलोकन गरेकोमा सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब १५ दशमलव ७७ प्रतिशत पर्यटक बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक पनि सन् २०१६ मा १० लाख १५ हजार एक सय ५८ जना लुम्बिनी पुगेका थिए । सन् २०१७ मा भने १२ लाख ५१ हजार तीन सय ४६ जना नेपाली पर्यटक लुम्बिनी भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब २३ दशमलव २७ प्रतिशत नेपाली पर्यटक बृद्धि भएको सूचना अधिकृत बस्नेतले जानकारी दिए ।
सन् २०१७ मा श्रीलंकाका ५६ हजार दुई सय जना, थाईल्याण्डका २१ हजार नौ सय २६ जना, चीनका १६ हजार तीन सय २९ जना, म्यानमार १५ हजार दुई सय ८४ जना पर्यटक लुम्बिनी आएका थिए ।
प्रतिक्रिया दिनुहोस्