काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई छिट्टै नै ‘स्मार्टसिटी’कारुपमा विकास गर्नका लागि काम गरिरहेको दाबी गरेका छन् ।
बुधबार महानगरले सुरु गरेको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा–२०७५’ बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् ।
महानगरले यसका लागि ठोस नीति तथा कार्यक्रमहरु बनाइसकेको र अब कार्यान्वयन गर्नमात्र बाँकी रहेकोे उनले बताए ।
नवीनतम् ज्ञान र सीपलाई उपयोग गर्ने र प्रविधिमैत्री विकास गरी काठमाडौंलाई स्मार्ट बनाउने अवधारणासहित महानगरले काम गरिरहेको उनको भनाइ थियो ।
उपप्रमुख हरिप्रभा खड्गीले पनि नवीन प्रविधिको उपयोग गरी सुसंस्कृत महानगर निर्माणका लागि आफूहरुले काम गरिरहेको बताइन् ।
उद्यमशीलता प्रवर्धन गर्नसक्ने सामूहिक ‘प्लेटफर्म’ विकास गर्ने उद्देश्यका साथ ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ नारासहित स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ आयोजना गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
उत्कृट ठहरिएका नवीन सोचहरुले विभिन्न विधामा एक लाखदेखि ५ लाख रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्नसक्ने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्