Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–२ सरकारद्वारा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मान


0
Shares

जनकपुरधाम, मंसिर २६ । सीताराम विवाह महोत्सवअन्तर्गत् अयोध्याबाट जन्तीमा आएका भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नम्बर–२ सरकारले बुधबार जनकपुरमा सम्मान गरेको छ ।

मधेस भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दनपत्र प्रदान गरेका थिए ।

मुख्यमन्त्री राउतले अभिनन्दनपत्रमा नेपाल–भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्थ ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्षमन्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नम्बर–२ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

दिवाभोजमा ३६ प्रकारको ब्यञ्जन

यसैबीच, भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नम्बर–२ को सरकारद्वारा आयोजित भन्डारा (दिवाभोज)मा सरिक भए ।

मधेस भवनमा आयोजित भन्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो ।

ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारीलगायतका विभिन्न परिकार पस्किइएको थियो ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

यसअघि, उत्तर प्रदेशका मुख्यमन्त्री योगीले जानकी मन्दिरमा पूजा–अर्चना गरेका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गरेका थिए । रासस