२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलबस्तुमा कुष्ठरोग निवारण अभियान संचालन हुँदै


0
Shares

जिल्लामा कुष्ठ रोग निर्मुलका लागि साविक २६ वटा गाविसमा कुष्ठ रोग निवारण कार्यक्रम २०७४ अन्तर्गत आउँदो माघ ८ देखि १० गतेसम्म कुष्ठ रोग निवारण अभियान कार्यक्रम संचालन गरिने भएको हो ।

सासाकावा मेमोरियल हेल्थ फाउण्डेसन जापानको आर्थिक सहयोग र कुष्ठरोग नियन्त्रण महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तु र आइएनएफ नेपालको सहकार्यमा अभियान संचालन गरिने भएको छ । बिगत ५ बर्षदेखि जिल्लाबाट कुष्ठरोग निवारणका लागी विभिन्न कार्यक्रम संचालन गरिएता पनि अहिले पनि ७१ जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।

यो किसिमका बिरामी पत्ता लगाउन समस्या भएको र बिरामी खुलेर स्वास्थ्य संस्थासमक्ष नआउनु पनि मुख्य समस्याका रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक मोहम्मद इरफानले बताए ।

नेपालले सन् २०२० सम्म सबै जिल्लाहरुमा प्रति दश हजारमा एकभन्दा कम अर्थात कुष्ठ रोग न्यूनिकरण गर्ने लक्ष्य राखेको क्षयकुष्ठ निरिक्षक इरफानले बताए ।

चालु आर्थिक बर्ष २०७४/०७५ को कात्तिक मसान्तसम्म ७१ जना कुष्ठ रोगका बिरामीहरु फेला परेका र उनीहरुको उपचारमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख योगेन्द प्रसाद भगतले जानकारी दिए ।

उनले कुष्ठरोगले छाला, हातखुट्टा र आँखामा स्थायी क्षति पुर्‍याउन सक्ने भएकोले यसको लक्षण देखिने बित्तिकै उपचार गराई हाल्नुपर्नेमा जोड दिए ।