
अन्य अस्पतालमाभन्दा राम्रो सेवा–सुविधा दिने अस्पतालकारुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुनेक्रम बढेको हो ।
पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको संख्या उच्च रहेपछि २०७१ पुसदेखि नर्सिङ विभागले व्यवस्थितरूपले रेकर्ड राख्न थालेको अस्पतालले जनाएको छ ।
अस्पतालकाअनुसार २०७१ पुसदेखि चैतसम्म २२ जना, २०७२ मा ५७ जना, २०७३ मा ६९ जना, २०७४ पुससम्म ४५ जना नर्स बाहिरिएका छन् । झन्डै ५० जनाभन्दा बढी नर्स बाहिरिने प्रक्रियामा छन् ।
यसरी राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेर बाहिरिएका भएपनि अधिकांश विदेश नै पलायन भएको शिक्षण अस्पतालका नर्सिङ विभागका निर्देशक कोपिला श्रेष्ठले बताइन् ।
उनले भनिन्–‘नेपालका नर्सका लागि पहिलो गन्तव्य विदेश नै हो अनि दोस्रो महाराजगन्जको शिक्षण अस्पताल हो । तर, नेपालमा पेसागत सुरक्षा, सम्मान र सुनिश्चित भविष्य नदेखेका कारण नर्सहरु पलायन हुनेक्रम बढिरहेको छ ।’
अन्य अस्पतालमाभन्दा बढी नर्सिङ कर्मचारी भएपनि अन्तर्राष्ट्रिय मापदन्डअनुसार एकजना नर्सले हेरविचार गर्नुपर्ने मापदन्डभन्दा धेरै बिरामी हेर्नुपर्ने बाध्यता भने शिक्षण अस्पतालमा अझै कायम छ ।
निर्देशक श्रेष्ठले हरेक महिना स्थायी र करारमा राखिएका नर्सले राजीनामा दिनेक्रमले अस्पतालमा नर्स कर्मचारी व्यवस्थापन गर्न निकै समस्या भएको बताइन् ।
अस्पतालका प्रशासन प्रमुख गोविन्दबहादुर प्रधानले ‘नर्सको पलायन हुनेक्रम बढ्न थालेपछि हरेक ६ महिनामा करारमा नर्स राख्नुपर्ने बाध्यता भएको छ’–भने ।
‘देशमा नर्सका लागि अपेक्षाअनुरुपको व्यवस्था हुन नसकेपछि विदेश जानेक्रम बढ्दो छ, नर्सलाई प्रशासनिक जिम्मेवारी, उचित पारिश्रमिक, पेसागत सुरक्षा आवश्यक छ’–उनले जोड दिए ।
उक्त अस्पतालका योजना तथा निर्माण विभाग प्रमुख दीपक तिवारीले सरकारले यहाँ स्थायी दरबन्दीको कोटा नथपेसम्म यस्तो समस्या आइरहने बताए ।
उहाँले भने–‘यहाँ अन्य अस्पतालकोभन्दा राम्रो सेवा–सुविधा छ, नेपाल सरकारले तोकेको सेवा–सुविधामा पनि अतिरिक्त १० प्रतिशत तलब थपेर दिइन्छ, हामीलाई नर्स र प्राविधिकको थप ५०० दरबन्दी आवश्यक छ भनेर माग गरिरहेका छौं ।’
३१७ जना स्थायी दरबन्दीमा र २८३ जना करारमा नर्स कर्मचारी छन् । अस्पतालले विस्तार गर्दैै लगेको सेवाअनुसार थप दरबन्दी आवश्यक छ ।
अहिले विभिन्न ११ बुँदे माग राखी देशभरका नर्स आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै महाशाखालगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ गत पुस २७ गतेदेखि देशव्यापीरूपमा चरणबद्ध आन्दोलनमा छ ।
सरकारले जायज मागको अविलम्ब सम्बोधन गरी नर्सको पेसागत सुरक्षा र उचित व्यवस्थापन गर्नुपर्नेमा निर्देशक श्रेष्ठको जोड छ ।
माग पूरा नभएको भन्दै नर्सले यही माघ १ देखि ३ गतेसम्म दिनको तीन घन्टा काम छाडेर विरोध जनाउँदै आएका छन् ।
संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेसम्मको सिफ्टमै काममा नजाने बताइन् ।
उनले भनिन्–‘अझै माग पूरा नभए माघ ७ गतेदेखि २४सै घन्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौं ।’
आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघ–संस्थाको समर्थन रहेको कार्यवाहक अध्यक्ष थापाको भनाइ छ ।
गत पुस २६ र २७ गते कालोपट्टि बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए ।
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रमशोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ ।
श्रम ऐन, २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रस्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पीएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्