
केही महिनाअघिबाट मुटु परीक्षण सेवा सन्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नसामा खुलाउने एनजीओग्राफी र एनजीओप्लास्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा सुरु गरेको हो ।
केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलोपटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजीओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।
त्यसैगरी, मध्यपुरथिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि बुधबारै मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजीओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।
पहिलोपटक सेवा सुरु गरेकाले केन्द्रले बुधबार उनीहरुको निःशुल्करुपमा एनजीओग्राफी गरेको हो ।
एनजीओग्राफी सम्पन्न गरेसँगै सन्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजीओग्राफी गरेको बताउँदै उनले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानुपर्ने बताए ।
उनले भने–‘नेपालमा दैनिकरुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सन्चालन गर्न जरुरी छ ।’
केन्द्रमा कार्यरत् मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताए ।
उनले मुटुको परीक्षणसँगै एनजीओग्राम, मुटुको नसामा बन्द भए बेलुनबाट फुटाउने एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँगसम्बन्धी सेवा लिन अब अन्यत्र जानु नपर्ने बताए ।
डा. ठाकुरले भने–‘आजबाट यहाँ क्याथ ल्याब सेवा सुरु भएको छ, यसबारे मुटुरोगसम्बन्धी अधिकांश सेवा दिन सकिने भएको छ, यस मेसिनबाट एनजीओग्राफी, मुटुको नसा ब्लक भएको छ कि छैन हेर्ने, नसा ब्लक छ भने स्टेन्ड अर्थात् जाली हाल्ने, पेसमेकर गर्ने, भल्बको समस्या छ भने त्यसलाई बेलुनबाट खुलाउने अर्थात् पिटिएमसीजस्ता सेवा दिन सकिन्छ, जनशक्ति उपलब्ध भए मुटुको भल्बसमेत फेर्न सकिन्छ ।’
यसका साथै न्यूरोको एनजीओग्राफी, रेनल एनजीओग्राफीलगायतका अन्य सेवा पनि सन्चालन गर्न सकिने बताउँदै उनले आवश्यक जनशक्ति उपलब्ध भएमा यस मेसिनबाट नेपालमा उपलब्ध हुँदै आएको मुटुसम्बन्धी सबै सेवा सन्चालन गर्न सकिने बताए ।
मुटुरोगका अतिरिक्त केन्द्रमा उपलब्ध हुँदै आएको सर्मुला एनजीओग्रामीलगायतको सेवा पनि दिनसक्ने भएको छ ।
सहिद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिँदै आएको सेवामा बिरामीको चाप बढेकाले त्यहाँ पालो कुरेर बस्नुपर्ने बिरामीलाई केन्द्रले सेवा दिनसक्ने भएको छ ।
उनले भने–‘गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नुपर्ने बिरामीलाई सरकारी शुल्कमै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाईमात्रै नभइ नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ ।’
कम्तीमा थप पाँचजना चिकित्सक र नर्स एवं प्राविधिक जनशक्ति थप गर्नसके नियमितरुपमा सेवा दिन सकिने उनको भनाइ छ ।
आवश्यक जनशक्ति र श्यया थप गर्नसके आकस्मिक उपचारसमेत सुरु गर्नसकिने उनले बताए ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानवका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको रु ८ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रविधि युक्त मेसिनले क्याथ ल्याब सेवा सुरु गरेको बताए ।
केन्द्रमै मुटुको सेवा सन्चालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुसीको कुरा भएको बताउँदै उनले भने–‘मिर्गौला र कलेजोमात्रै होइन, भविश्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना छ ।’
केन्द्रको श्यया थप गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने र भौतिक पूर्वाधारको व्यवस्था भए मुटुको सबै सेवा यहीँबाट सन्चालन गर्नसकिने उनले बताए ।
केन्द्रले २०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र २०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्