२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार प्रोत्साहन भत्ता


0
Shares

 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने भएको हो ।

गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

उनले भने –दुर्गम क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी नगराउँदा वर्षेनि आमा र बच्चाको ज्यान जाने गरेको तथा अन्तिम अवस्थामा हेलिकप्टर चार्टर गरेर ज्यान बचाउनु पर्ने अवस्था रहेकाले ग्रामिण आमा तथा बच्चाहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

दुर्गम भएकाले सुत्केरी हुनुअघिनै अस्पताल गएर सुरक्षित प्रसुति गरेर कुनै पनि आमा तथा बच्चाको ज्यान बचाउन सकियो भने यस भत्ताको सार्थकता हुनेछ, उनले थपे ।

यस सुविधाको उपभोग गरी प्रसुति गराउन सबैले छिमेकीमा सल्लाह दिएर सबैले सहयोग गुर्नपर्ने उनको भनाइ छ ।

यस्तो सुविधा प्रदान गर्ने जिल्लाको पहिलो गाउँपालिकाका रुपमा वडा नम्बरको ३ पञ्चनबाट सेवा शुरु गरिएको अध्यक्ष राईले जानकारी दिए ।

गर्भवती र नवजात शिशुको जीवन रक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले यस्तो काम शुरु गरेको उनको भनाइ छ ।

स्वास्थ्य संस्थामा प्रसुति गराएको रिपोर्ट पेस गर्ने हरेक आमाले गाउँपालिकाकोतर्फबाट नियमानुसार रकम पाउँछन् ।

अस्पतालमा सुत्केरी गराएमा पाँच हजार र बर्थिङ सेन्टरमा गराएमा तीन हजार पाँच सय रुपियाँ पाउने बताइएको छ ।

यस गाउँपालिकामा चार वटा बर्थिङ सेन्टर रहेका छन् । बर्थिङ सेन्टरमा भन्दा अस्पतालमा रगतको समेत व्यवस्था गर्न सक्ने भएकाले बढी सुरक्षित मानिन्छ ।

साबिकका सात गाविस मिलाएर बनाइएको यस गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या रहेको छ ।

भौगोलिक रुपमा ठूलो क्षेत्रमा फैलिएको यस गाउँपालिकाको सबै वडामा सडक पहुँच पुगेको छैन ।

ग्रामिण क्षेत्रमा सबैको आर्थिक अवस्था राम्रो नहुने भएकाले अस्पतालसम्म सुत्केरी गराउन लैजान नसकेकै कारण जोखिमपूर्ण अवस्थाबाट प्रसुति गराउने अवस्थाको अन्त्यका लागि प्रोत्साहन भत्ताले सजिलो हुने काँगेलका पर्शुराम बस्नेतले बताए ।